एक सय ८० घरधुरीमा खानेपानीको धारा

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजनामार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो ।

योजना पूर्णरुपमा सम्पन्न नभए पनि अहिलेसम्म एक सय ८० घरधुरीमा पानी चलेको छ खबरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम कुँबरले भन्नुभयो, ‘‘वर्षौदेखि खबराको वस्तीमा खानोपनीको चरम समस्या थियो । चार वर्ष अघिदेखि सञ्चालन गरिएको योजनामार्फत अहिले घरघरमा जडान गरिएका धारामार्फत पानी खसेपछि समस्याबाट मुक्ति पाएका छौं ।’ खबरामा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकारको बजेटलाई बेनी नगरपालिकाले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । चालु आर्थिक वर्षसम्म आइपुग्दा तीनवटा ठेक्कामार्फत योजना निर्माण भएको छ । अहिलेसम्म एक करोड ३१ लाख ७२ हजार चार सय ४३ रुपियाँ खर्च भइसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । खबरा गाउँदेखि माथि मुलछरीको पानीको मुहानबाट पानी ल्याएर खबराका करिब दुई सय पचास घरधुरीमा निजी धारामार्फत पानी वितरण गर्ने योजना अनुसार अहिलेसम्म ५० हजार क्षमताका दुई वटा रिर्जभ ट्याङ्की, ३५ वटा वितरण च्याम्बर र ५ वटा डिसीलाइन निर्माण गरिएको बेनी नगरपालिकाका सब इन्जिनियर कमल थापामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार योजना सम्पन्न गर्न तीन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७८\०७९ का लागि भ्याटसहित ८७ लाख ९९ हजार दुई सय ७७ रुपियाँ लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार एकसय ६५ रुपियाँमा खुसीहोम विल्डर्ससँग ठेक्का सम्झौता भएको थियो । पहिलो वर्ष इन्टेक निर्माण, पचास घन मिटरको आरसीसी ट्याङ्की, घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीन वटा ब्रेक प्रेसर च्याम्बर, मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको सब इन्जिनियर थापामगरले बताउनुभयो । दोस्रो वर्ष २०७९\०८० मा भ्याटसहित ५४ लाख ३७ हजार ६ सय २२ रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजिवी निर्माण सेवा सँग ४२ लाख २७ हजार सातसय २९ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । योजना मार्फत पचास घनमिटरको आरसीसी ट्याङकी, ६० वटा निजी धारा र घरघरमा जाने पाइपलाइन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार नौ सय ६३ रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार पाँससय ४९ रुपियाँमा बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । योजनामा एक सय २० वटा धारा निर्माण र फिटिङ सहित पाँचसय मिटर पाइपलाइन निर्माण भएको सब इन्जिनियर थापामगरले जानकारी दिनुभयो । पाइपलाइन, डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारले लापरबाही गरेकाले योजना गुणस्तरीय नभएको उपभोक्ता समितिका अध्यक्ष कुँबरले गुनासो व्यक्त गर्नुभएको छ । ठेकेदारको लापरबाही, प्राविधिकबाट नियमित अनुगमन नहुनु र कमशल सामग्रीको प्रयोगका कारण योजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताउनुभयो । योजना सम्पन्न भयो भनेर भनिएको छ तर राम्रो बनेन् उहाँले भन्नुभयो, ‘‘योजना निर्माणमा ठेकेदारको चरम लापरबाही देखियो । मुख्यपाइपलाइन राम्रोसँग गाडिएको छैन । कमशल सामाग्रीको प्रयोग गरेर संरचनाहरु निर्माण गरेकाले पानी सञ्चालन नहुँदै संरचनाहरु जिर्ण भइसकेका छन् । पाइपहरुको फिटिङ राम्रोसँग नहुँदा धेरै ठाउँबाट पानी चुवावट भएको छ ।

खबरा खानेपानी योजनामा ठेकेदार पक्षबाट भएको लापरबाही र कमशल सामग्रीको प्रयोगलाई लिएर नगरपालिकाले ठेकेदार पक्षलाई सचेत बनाएको नगर प्रमुख केसीले बताउनुभयो । ‘‘ठेकेदारबाट लापरबाही भएको भन्ने उपभोक्ताको कुरा सत्य हो । कमशल पाइप प्रयोग गरेको भन्ने उपभोक्ताको गुनासो आएपछि गाडिएको पाइप समेत निकालेर अर्को पाइप राख्न लगाएका हौं,’’ नगरप्रमुख केसीले भन्नुभयो । खबराको सबै घरधुरीमा खानेपानीको विस्तारका लागि अझै ५० वटा धारा निर्माण गर्नुपर्ने र सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि बजेट कटौती गरेकाले योजना अधुरो हुने अवस्था सिर्जना भएको नगरप्रमुख केसीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...