महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकी

Published on

काठमाडौं । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकी महिला कर्मचारीले मात्र धानेका छन् । चौकीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै महिला कर्मचारी कार्यरत छन् ।

पर्याप्त स्रोतसाधनको अभाव हुँदाहुँदै पनि महिला स्वास्थ्यकर्मीले आफ्नो ठाउँमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएका छन् । सो स्वास्थ्य चौकीको भवन मापदण्ड अनुसारको छैन । एउटै कोठाबाट बिरामीलाई परामर्शदेखि जाँचसम्मका काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जटिल खालका बिरामीको उपचारका लागि प्रयोगशाला सेवा र भिडियो एक्सरे सेवा छैन । यस्तो अभावबिच पनि स्वास्थ्य चौकीले उत्कृष्ट सेवा प्रवाह गरेको सेवाग्राही बताउँछन् । चौकीमा सेवा लिन आउनुभएकी स्थानीय पातली ओलीले चौकीबाट प्राप्त हुने सबै सेवा पाइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा सबै महिला स्वास्थ्यकर्मी भएको हुँदा महिला भएर आफ्नो समस्या भन्न पनि सजिलो भएको जनाउनुभयो तर सो ठाउँमा भिडियो एक्सरे र प्रयोगशालाका लागि भने बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो उहाँको छ । अर्का सेवाग्राही सन्तोष केसीले चौकीबाट सन्तोषजनक सेवा प्रवाह भएको बताउनुभयो । महिला स्वास्थ्यकर्मी नियमित चौकी आउने, आफ्नो काममा इमानदारिता प्रकट गर्नुहुने भएकाले सेवा सन्तोषजनक भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “गाउँमा बस्ने भनेकै महिला बढी हो, यहाँका स्वास्थ्यकर्मी औषधी उपचार गर्न बिरामीले बोलाएकै बेला आइदिनुहुन्छ । महिला कर्मचारी भएको दिनदेखि सुत्केरीका लागि सबैभन्दा राम्रो भएको छ ।” महिला मात्रै स्वास्थ्यकर्मी भएका कारण गर्भवतीको नियमित जाँचमा बिनासङ्कोच आफ्ना समस्या भन्न बोल्न पाएको उहाँले अनुभव पोख्नुभयो । महिला मात्रै स्वास्थ्यकर्मी भएका कारण अचेल गाउँका गर्भवती महिला व्यथा लाग्नेबित्तिकै स्वास्थ्य चौकी आउने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकी प्रमुख सुनिताकुमारी खत्रीले स्वास्थ्य चौकीले सेवा प्रवाहमा आफूहरूले कुनै कमी र भेदभाव नगरेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा बस्ने आवास नभए पनि कोही बिरामी आएपछि रातिको समयमा पनि डेराबाट आएर सेवा दिने गरेको बताउनुभयो । रातिको समयमा कहिलेकाहीँ महिलालाई आकस्मिक सेवा दिन आउँदा त्रासको वातावरण भएको अनुभव पनि उहाँले सुनाउनुभयो ।

यसै गरी लेकबेँसी नगरपालिका–६ स्वास्थ्य चौकी कल्याणका पनि सबै स्वास्थ्यकर्मी महिला छन् । चौकीमा कार्यरत प्रमुख एचए भगवती श्रेष्ठ, सिअहेव यशोदा पुन, अनमी लीला पुरी, सिअहेव जमुना बुढा, ल्याब असिस्टेन्ट डिलमाया जिसी र अनमी खिमा रानाको मिलेको समूह छ । सबै महिला स्वास्थ्यकर्मी भएकाले महिला नै बढी उपचारमा आउने गरेको अनुभव स्वास्थ्यकर्मीको पनि छ । चौकीका प्रमुख भगवती श्रेष्ठले सबै कर्मचारी महिला भएको नाताले काम गर्न पनि सहज हुने गरेको अनुभव सुनाउनुभयो । धेरै जसो पुरुष काम गर्न बाहिरिएका कारण चौकीमा उपचार गर्न महिला नै बढी आउने गरेका छन् । प्रसूति सेवालगायत अन्य आकस्मिक सेवा पनि दिन रात गर्नु परेको भन्दै उहाँले सेवाग्राहीले पनि उपचारमा सहयोग गर्ने गरेको उहाँको भनाइ छ । यता जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सबै महिला कर्मचारी भएको स्वास्थ्य चौकीबाट सेवा प्रवाहबारे कुनै गुनासो नआउने गरेको जनाएको छ । कार्यालयले वरिष्ठ निरीक्षक उदय बिसीले सबै स्वास्थयकर्मी महिला हुँदा काम गर्दा सहज भएको प्रतिक्रिया आएको हुँदा सेवा प्रवाह पनि राम्रोसँग भएको आफूहरूले पाएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकीको सङ्ख्या आधा दर्जनभन्दा बढी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...