न्यायपालिकाको पाँचौँ रणनीतिक योजना:मुद्दा फस्र्योटमा महत्त्वाकाङ्क्षी लक्ष्य

Published on

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा फस्र्योटको महत्वाकाङ्क्षी लक्ष्यसहित न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक भएको छ । विचाराधीनमध्ये वार्षिक लक्ष्यमा दुई तिहाइ मुद्दा फस्र्योट हुन नसकेको अवस्थामा रणनीतिक योजनामा अबको दुई वर्षभित्र पाँच वर्ष नाघेका सबै मुद्दा तथा रिटलाई शून्यमा ल्याउने योजना लिइएको छ । सर्वोच्च प्रशासनका अनुसार पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या अघिल्लो वर्षको अन्त्यसम्म तीन हजार २४२ छ । यस्तै रिटको बाँकी लगत पाँच हजारभन्दा बढी छ ।

पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना मङ्गलबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सार्वजनिक गर्नुभयो । सार्वजनिक योजना अनुसार २०८५ असार मसान्तसम्म तीन वर्ष नाघेका सबै मुद्दा तथा रिटको फस्र्योट गरिने र २०८६ असार मसान्तसम्म दुई वर्ष नाघेका मुद्दा तथा रिटलाई शून्यमा झारिने छ । थुनुवा भएका मुद्दा बढीमा दुई वर्ष र साधकको रोहमा हेरिने मुद्दालाई नौ महिनामा फैसला गर्ने लक्ष्य रणनीतिक योजनाले लिएको छ । निवेदन तथा दोहोयाई पाऊँ, पुनरवलोकनका निवेदन, अनुमतिका निवेदन र साधकको वार्षिक लगतमध्ये कम्तीमा ५० प्रतिशत फस्र्योटको लक्ष्य राखिएको छ । प्रतिवेदनहरू दर्ता मितिले तीन महिनामा किनारा लगाइसक्ने पनि रणनीतिक योजनामा उल्लेख छ । यस्तै उच्च अदालतहरूमा सरल, सामान्य र विशेष मार्ग समूहका मुद्दामा सम्बन्धित कार्यविधिले निधारण गरेको अवधिमा फस्र्योट सक्ने लक्ष्य रणनीतिक योजनाले राखेको छ । उच्च अदालतहरूमा २०८२ असार मसान्तसम्म हाल विचाराधीन १८ महिना अवधि नाघेका सबै मुद्दाको फैसला गर्ने लक्ष्य रणनीतिक योजनामा उल्लेख छ । उच्च अदालतहरूमा प्रतिवेदन दर्ता भएको एक महिनामा अन्तिम आदेश गर्ने, मध्यस्थताका निवेदनलाई कानुनको अवधिभित्रै अन्तिम आदेश तथा निर्णय गरिसक्ने लक्ष्य पनि योजनामा छ ।

जिल्ला अदालतहरूमा पनि अबको एक वर्षभित्र हाल विचाराधीन १८ महिना नाघेका सबै मुद्दाको अन्तिम फैसला गरिसक्ने लक्ष्य योजनाले राखेको छ । विशेष प्रकृतिका निवेदनमा प्रमाण बुझेको मितिले सात दिनभित्र फस्र्योट गर्ने पनि योजनामा छ । विशेष अदालत, प्रशासकीय अदालत, श्रम अदालत तथा न्यायाधीकरणमा वार्षिक रूपमा दर्ता मुद्दाको कम्तीमा ५० प्रतिशत फस्र्योटको लक्ष्य रणनीतिक योजनामा छ ।

रणनीतिक योजनाले लक्ष्य र समयावधि अनुसारको दायित्व पूरा गर्ने जिम्मेवार निकाय तथा अधिकारी पनि तोकेको छ । सर्वोच्चको मुद्दा फस्र्योटको हकमा प्रधान न्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्लामा न्यायाधीशलाई उत्तरदायी तोकिएको छ । विशेष प्रकृतिका अदालतहरूमा अध्यक्ष तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ । पाँचौँ पञ्चवर्षीय योजना लागु हुँदा लेख्न बाँकी रहेका फैसला २०८१ पुससम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । रणनीतिक योजना लागु भएको अवधिमा भने कानुनले तोकेको अवधिमा नै फैसला सम्पन्न गर्ने लक्ष्य तोकिएको छ । न्यायाधीश र इजलास अधिकृतलाई फैसला लेखनमा उत्तरदायी बनाइएको छ । रणनीतिक योजनाले देवानी तथा फौजदारी मुद्दाको फैसला अनुसारको लगत असुलीको पनि समय तोकेको छ । फैजदारी मुद्दामा बाँकी कैद तथा जरिबाना असुलका लागि पहिलो वर्ष २०३५ सालसम्मका सबै बक्यौता असुल गर्ने, दोस्रो वर्ष २०४५ यताका, तेस्रो वर्ष २०५५ यता र अन्तिम पाँचौँ वर्ष २०७५ सम्मका सबै लगत असुल गर्ने लक्ष्य रणनीतिक योजनाले राखेको छ ।

स्रोत साधन चाहिन्छ

रणनीतिक योजना सार्वजनिक गर्दै प्रधान न्यायाधीश श्रेष्ठले योजना अनुसारका लक्ष्य हासिलका लागि सबै पक्षको सहयोगको आवश्यकता रहने बताउनुभयो । उहाँले नेपालले न्यायपालिकामा रणनीतिक योजना लागु गर्दा दक्षिण एसियामा पृथक् र फरक अभ्यासको थालनी गरेको पनि स्मरण गर्नुभयो । प्रधान न्यायाधीश श्रेष्ठले योजनाबद्ध सुधारको प्रयासबाट न्यायालयमा पछिल्लो समय महìवपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले योजना कार्यान्वयनका लागि आवश्यक स्रोत साधनको प्राप्ति आवश्यक रहेको पनि बताउनुभयो । यस्तै वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतले अहिले अदालत मुद्दाको चाङले थिचिने अवस्थामा रहेको उल्लेख गर्नुभयो । न्यायालयमा योजनाबद्ध सुधारको प्रयास सकारात्मक रहेको बताइरहँदा मुद्दा फस्र्योट भने अपेक्षित नरहेको राउतले बताउनुभयो । मुद्दा फस्र्योटमा न्यायाधीश स्वयं नै सन्तुष्ट रहेको भन्दै उहाँले पाँचौँ योजना कार्यान्वयन गर्न सकिने र नतिजामुखी हुने विश्वास व्यक्त गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकासँग सहकार्य गरेर आफू अघि बढ्ने विश्वास दिलाउनुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले रणनीतिक योजना कार्यान्वयनका लागि आफूहरूले सक्दो सहयोगको वचन दिनुभयो । घिमिरेले कानुन व्यवसायीका सम्मेलनका दौरान उठाइएका विषय र दिइएका सुझाव कार्यान्वयनले पनि मुद्दा व्यवस्थापन र लगत फस्र्र्योटमा सहयोग पुग्ने ध्यानाकर्षण गराउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...