बाइडेनद्वारा बिदाइ सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गर्दै हुनुहुन्छ । क्वाडलाई ती देशले चीनको प्रतिसन्तुलनका रूपमा अगाडि बढाएका छन् ।

बाइडेनले आफ्नो गृहनगर विलमिङ्टनलाई चार–राष्ट्रिय समूहको शिखर सम्मेलनका लागि चयन गर्नुभएको छ । यो उहाँ राष्ट्रपति पदमा रहँदा अन्तिम शिखर सम्मेलन हुनेछ । बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको नेतृत्व सुम्पिनुभएको छ । उहाँले आफ्नो प्रिय विलमिङ्टन घरमा एक–एक गरेर भेटवार्ता गर्नुहुनेछ । यसको सुरुआत शुक्रबार राति अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजबाट हुनेछ र शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानी प्रधानमन्त्री फुमियो किशिदासँग जारी रहनेछ । त्यसपछि शनिबार बाइडेनले सहरको आफ्नो पूर्वविद्यालयमा ‘अन्तरङ्ग’ रात्रिभोज र पूर्ण चौतर्फी शिखर सम्मेलन आयोजना गर्नुहुनेछ ।

“यो राष्ट्रपति बाइडेनका लागि राष्ट्रपति पदमा रहँदा पहिलो पटक विलमिङ्टनमा विदेशी नेताहरूलाई स्वागत गर्ने अवसर हो, यसले उहाँ र प्रत्येक क्वाड नेताबीचको गहिरो व्यक्तिगत सम्बन्धलाई प्रतिबिम्बित गर्छ”, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले भन्नुभयो । ह्वाइट हाउसले सम्मेलनमा उपराष्ट्रपति ह्यारिसको उपस्थिति नहुने जनाएको छ । क्वाड समूहको सुरुआत सन् २००७ मा भएको थियो । यद्यपि बाइडेनले यसलाई बलियो बनाएर ट्रम्पको एक्लोपनवादी वर्षहरूपछि अन्तर्राष्ट्रिय गठबन्धनमा जोड दिनुभएको छ । चीनसँगको तनाव विशेषगरी विवादास्पद दक्षिण चीन सागरमा हालैको चिनियाँ र फिलिपिनो जहाजहरूबिचको सङ्घर्षका कारण बैठकमा चीनबारे प्रमुखताका साथ छलफल हुने अपेक्षा गरिएको छ ।

“यो निश्चय नै एजेण्डाको शीर्षस्थानमा रहनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भन्नुभयो । उहाँले चार नेताबिच ‘जनवादी गणतन्त्र चीनले खडा गरेको चुनौतीबारे साझा बुझाइ’ रहेको बताउनुभयो । तथापि ह्वाइट हाउसले पत्रकारहरूको सीमित पहुँचका लागि आलोचना खेपिरहेको छ । विशेषगरी भारतीय प्रधानमन्त्री मोदीको मिडियासँगको कम सम्बन्धका कारण यो कदम उठाइएको भन्ने प्रश्न गरिएको छ । सन् २०२३ मा ह्वाइट हाउसको राजकीय भ्रमणका क्रममा दुई प्रश्नको उत्तर दिन मोदीलाई राजी गराइएको थियो । तर उहाँले भारतमा आफ्नो अघिल्लो नौ वर्षको शासनकालमा कुनै पनि खुला प्रेस सम्मेलन गर्नुभएको थिएन ।

ह्वाइट हाउसले बाइडेनले बढ्दो अधिनायकवादको आरोपको सामना गर्नुभएका मोदीसँग मानव अधिकारका विषयमा छलफल गर्न नहिचकिचाउने बताएको छ । “उहाँले विदेशी नेताहरूसँग गर्ने कुनै पनि कुराकानी यस्तो हुँदैन जसमा उहाँले मानव अधिकार र नागरिक अधिकारको सम्मानको महत्त्वका बारेमा कुरा नगर्नुभएको होस् र यसमा प्रधानमन्त्री मोदी पनि समावेश हुनुहुन्छ”, किर्बीले भन्नुभयो । भारतले सन् २०२५ मा अर्को क्वाड शिखर सम्मेलनको आयोजना गर्नेछ । बाइडेनलाई वासिङ्टनदेखि करिब एक सय ७६ किलोमिटर टाढाको विलमिङ्टनमा आफ्नो घरप्रति गर्व छ । यहाँ उहाँ प्रायः ह्वाइट हाउसको व्यस्तताबाट बाहिर रहेर सप्ताहान्त बिताउन आउनुहुन्छ । घरको ग्यारेजमा उहाँको कोरभेट स्पोर्ट्स कारको छेउमा गोप्य कागजातहरू फेला परेपछि सन् २०२२ मा यो घर चर्चामा आएको थियो । बाइडेनलाई उक्त मामिलामा आरोप लगाइएको थिएन । रासस/एएफपी

ताजा समाचार

अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

काठमाडौं । अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।...

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

काठमाडौं । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा...

राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको...

‘नेपालगन्ज-१० के’ दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम

काठमाडौं । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश...