काठमाडौँ । काठमाडौँमा अवध लखनउकी रानी बेगम हजरत महलको चिहान छ भन्दा सबैलाई अनौठो लाग्न सक्ला । अझ त्यो पनि काठमाडौँको केन्द्र रत्नपार्कमै । यो कुनै कथा नभई वास्तविकता हो । रत्नपार्कको पूर्वी उत्तर किनारा बागबजार जाने सडकको मुखैमा रहेको लखनउकी रानीको चिहान अहिले पनि उस्तै अवस्थामा छ ।
भारतको उत्तरप्रदेशमा पर्ने अवध सन् १८१६ अघि स्वतन्त्र राज्य थियो । लखनउ राजधानी रहेको अवध सन् १८१६ मा इस्ट इन्डिया कम्पनीको संरक्षित राज्य बन्न पुग्यो । सन् १८५६ मा लर्ड डलहौजीले ‘डक्ट्रिन अफ ल्याप्स’ नीति अन्तर्गत अवधलाई कम्पनी सरकारमा गाभे । ल्याप्स नीतिमा इस्ट इन्डिया कम्पनीले कुनै पनि रजवाडाका राजाले आफ्नो उत्तराधिकारी जन्माउन असफल भए उक्त राज्य कम्पनी सरकारको अधीनमा आउने र त्यसको सार्वभौमिकता इस्ट इन्डिया कम्पनी अन्तर्गत रहने कुरा उल्लेख थियो । सोही कारण डलहौजीले अवधका नवाब वाजिद अली शाहलाई कोलकाता लगेर नजरबन्दमा राखेका थिए ।
को थिइन् बेगम हजरत महल
अवधका उनै अन्तिम नवाब वाजिद अली शाहकी कान्छी रानी थिइन् बेगम हजरत महल । बेगम हजरत महल सन् १८२० मा फैजाबादको एउटा साधारण परिवारमा जन्मेकी थिइन् । उनको खास नाम भने मुहम्मदी खानम थियो । गरिबीका कारण उनका आमाबुवाले उनलाई सानैमा बेचेका थिए । त्यसपछि लखनउ पुगेर उनी नवाबको दरबारमा खवासिन अर्थात् सेविका बनेकी थिइन् ।
त्यसै क्रममा उनले नृत्य सिकिन् र दरबारमा तवायफ बनिन् । तवायफपछि परी हुँदै ‘महक परी’ बन्न पुगिन् । अन्ततः उनलाई नवाब वाजिद अली शाहले बेगम बनाए ।
सन् १८४५ मा उनीबाट छोरा बिर्जिस कद्र जन्म भयो । त्यसपछि नवाबले उनलाई महल अर्थात् रानीको दर्जा दिए तर दुर्भाग्य छोरा जन्मेको पाँच वर्ष नबित्दै नवाबले उनलाई तलाक दिए । त्यसैले उनले नवाब वाजिद अली राज्यहरणपछि कोलकाता जाँदा सँगै जान पाइनन् । उनी छोरा बिर्जिससँग लखनउमै बसिन् । शेष जीवन भने काठमाडौँमा बिताइन् ।
कसरी काठमाडौँ आइपुगिन् रु
गङ्गाको उष्ण मैदानबाट हिमालयको काख काठमाडौँसम्मको उनको जीवनयात्रा उत्तिकै पीडादायी छ । सन् १८५७ मा भारतमा सिपाही विद्रोह नभड्केको भए अवधकी यी रानी काठमाडौँ आउने नै थिइनन् ।
उनको काठमाडौँ आगमनको कथा सुरु हुन्छ मङ्गल पाण्डेको सन् १८५७ को सिपाही विद्रोहबाट । त्यतिबेला मङ्गल पाण्डे कार्यरत बङ्गाल नेटिभ इन्फेन्ट्री अर्थात् बिएनईमा गैरहिन्दुलाई भर्ना गरिँदैनथ्यो । पछि ब्रिटिसले नीति परिवर्तन गरी बिएनईमा गैरहिन्दु भर्ना गरेपछि सेनाभित्र असन्तुष्टि उत्पन्न भयो । त्यसैबिच ब्रिटिसहरूले सेनालाई दाँतले काट्र्रिज टोकेर लोड गर्नुपर्ने ‘इनफिल्ड राइफल’ दिए । उक्त काट्र्रिजमा गाई र सुँगुरको बोसो रहेको भनियो । जुन हिन्दु र मुस्लिम सिपाहीको अस्वीकार्य कुरा थियो । कार्टि«ज प्रकरणपछि विद्रोहमा परिणत भयो ।
परिणामतः मङ्गल पाण्डेले सन् १८५७ मार्च २९ मा कोलकाताको ब्यारेकपुरमा ब्रिटिस अफिसरमाथि आक्रमण गरी विद्रोहको शङ्खघोष गरे । सो अभियोगमा उनलाई अप्रिल ८ मा फाँसी दिइयो । त्यसपछि भारतभर विद्रोह भड्कियो । मे ११ मा विद्रोहीले दिल्लीमा बहादुर शाह जफरलाई भारतको सम्राट घोषणा गरे ।
सन् १८५७ मे ३० मा विद्रोहीले लखनउमा ब्रिटिसका घर जलाए । जुन ३० मा लखनउनजिक चिनहटमा भएको लडाइँमा विद्रोहीले ब्रिटिस सेनालाई हराई लखनउ कब्जा गरे । त्यसपछि सन् १८५७ जुलाई ५ मा बेगम हजरत महलका छोरा बिर्जिस कद्रलाई अवधको नवाब घोषणा गरियो । बिर्जिस कद्र १२ वर्षको मात्र भएकाले हजरत महलले नायबी अर्थात् ‘रेजेन्ट क्विन’ का रूपमा शासन समालिन् । उनले लखनउमा जम्मा भएका ३५ हजारभन्दा बढी विद्रोही सैनिकको नेतृत्व गरिन् ।
त्यसपछि विद्रोही सैनिकले ब्रिटिस रेजिडेन्सीलाई घेरा हाली तीन हजार ब्रिटिसलाई बन्दी बनाए । त्यसैबिच ब्रिटिसले दिल्ली कब्जा गरी बहादुर शाह जफरलाई बन्दी बनाए । दिल्लीबाट भागेका विद्रोहीहरू अवधतिर आए । ब्रिटिसहरू पनि दिल्लीपछि लखनउमा केन्द्रित भए । लखनउ कब्जाका लागि ब्रिटिसले नेपालसँग सहयोग मागे ।
जङ्गबहादुरको सहयोग
जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाद्वारा लिखित ‘लाइफ अफ महाराजा सर जङ्गबहादुर’ नामक पुस्तक अनुसार सुरुमा जङ्गबहादुरले नै ब्रिटिस दूत जे। ¥याम्जेमार्फत कम्पनी सरकारलाई सैन्य सहयोगको प्रस्ताव पठाएका थिए तर सुरुमा लर्ड क्यानिङले जङ्गबहादुरको प्रस्ताव अस्वीकार गरे । स्थिति काबुमा नआएपछि क्यानिङले नेपालसँग सैन्य सहयोग मागेका थिए । त्यसपछि जङ्गबहादुरले कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा सन् १८५७ को जुलाईमा छ हजार फौज अवध पठाए । बस्नेत नेतृत्वको नेपाली सैन्य टोलीले सन् १८५७ को नोभेम्बरसम्म अवधको आजमगढ, जौनपुर र अट्टौली कब्जा ग¥यो ।
लर्ड क्यानिङले त्यसपछि पनि फेरि सहयोग माग्दा जङ्गबहादुर आफैँ १४ हजार सैनिकसहित सन् १८५७ को डिसेम्बरमा अवध गए । अवधमा उनले चन्दा–कुहना, सोनपुर, बसगङ्गा, मुवारकपुर र बलिया कब्जा गरे । भारतीय इतिहासकार रुद्रांशु मुखर्जीका अनुसार ब्रिटिसले जङ्गबहादुरलाई विद्रोह दमनमा सघाएबापत नेपाललाई गोरखपुर दिने भनेका थिए । त्यो कुरा हजरत महलले थाहा पाएपछि जङ्गबहादुरले अङ्ग्रेजलाई सहयोग नगरे नेपाललाई आजमगढ, आरा र बनारस दिने प्रस्तावसहित ‘कलन्दरी फकिर’ को भेषमा आफ्नो दूत पठाएकी थिइन् तर ती दूतको ब्रिटिसहरूले बाटोमै हत्या गरेका कारण हजरत महलको प्रस्ताव जङ्गबहादुरसम्म पुग्न पाएन । त्यसपछि जङ्गबहादुर लखनउतिर अघि बढे ।
अन्ततः ब्रिटिसहरूले लखनउ कब्जाका लागि ६० हजार सैनिक परिचालन गरे । त्यस व्रmममा नेपाली सेनाले सन् १८५८ को मार्चमा अम्बरपुर, फिरोजपुर, बादशाह बाग, बेगमकोठी, मोतीबाग, ताराकोठी र केसरबाग कब्जामा लियो । केशरबाग हजरत महलको निवास थियो । केसरबाग कब्जापछि ब्रिटिस र शिख सेनाले त्यहाँ लुट मच्चाए । नेपाली सेनाको आक्रमणअघि नै हजरत महल केसरबाग छोडेर मुसाबाग पुगेकी थिइन् । सन् १८५८ मार्च २१ मा मुसाबागमा ब्रिटिस र विद्रोही सैनिकबिच निर्णायक लडाइँ भयो । लडाइँमा हजरत महल नेतृत्वको विद्रोही सेनाको हार भयो । त्यसपछि लखनउ पूर्ण रूपमा ब्रिटिसको कब्जामा आयो ।
लखनउ कब्जापछि जङ्गबहादुर सन् १८५८ अप्रिल ८ मा इलाहाबाद पुगे । त्यहाँ उनले गभर्नर लर्ड क्यानिङलाई भेटे । क्यानिङले उनलाई सहयोगका लागि धन्यवादले मात्र नपुग्ने भन्दै सुगौली सन्धिमा नेपालले गुमाएको भूमि फर्काउने बताए । सोही अनुसार ब्रिटिसले सन् १८६० मा हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फर्काएका थिए ।
नेपाल प्रवेश
लखनउ ब्रिटिसको पोल्टामा गएपछि हजरत महलले छोरा, नोकर चाकर, अमिर–उमरा, विद्रोही नेता र सैनिकहरूसँगै लखनउ छोडिन् । लखनउबाट उनी महमुदाबाद पुगिन् । त्यहाँबाट घाघरा अर्थात् कर्णाली नदी पार गरेर बोन्डी किल्लामा बसिन् । त्यहाँ बुँदेलखण्डबाट नानासाहेब, तात्या टोपेलगायतका नेता दलबलसहित आए । उनीहरू सबैलाई राजा हरदत्त सवाइले सहयोग गरे । हजरत महल विद्रोही सैनिकसँगै बोन्डीमा रहेको खबर पाएपछि लर्ड क्लाइड नेतृत्वको ब्रिटिस फौजले त्यहाँ आक्रमण ग¥यो । ब्रिटिस फौजको आक्रमणपछि हजरत महलसहितका विद्रोही त्यहाँबाट कोइलाबास पारि तुलसीपुर पुगे ।
त्यहाँबाट सोनारी पहाड हुँदै नेपालको दाङ प्रवेश गरेका थिए । अन्ततः विद्रोहीहरू हाल कपिलवस्तुको सुरहीखोलाको जङ्गलमा अड्डा जमाएर बसे । भारतीय लेखक गुरुदत्त शुक्लको ‘अवध के गदरका इतिहास’ नामक पुस्तक अनुसार सुरहीखोलामा पुगेका ४० हजार भारतीय विद्रोहीमध्ये ३० हजार त सैनिक मात्रै थिए । उनीहरूसँग १३ सयभन्दा बढी घोडा थिए ।
जङ्ग पुत्र पद्मजङ्ग राणाका अनुसार सुरहीखोलामा बसेका भारतीय विद्रोहीबारे पाल्पाका बडाहाकिमले प्रधानमन्त्री जङ्गबहादुरलाई खबर गरे । त्यसपछि जङ्गबहादुरले विद्रोहीहरूलाई निःशस्त्रीकरण र निगरानी गर्ने निर्देशनसहित कर्णेल पहलमानसिंह बस्नेतको नेतृत्वमा चार कम्पनी सैन्यबल सुरहीखोला पठाएका थिए ।
सन् १८५८ को मे ४ मा बस्नेत नेतृत्वको नेपाली सैन्यबल सुरहीखोलानजिक चग्मीगढी पुग्यो । त्यहाँ नेपाली फौजले हतियार बिसाउन दिएको निर्देशन विद्रोहीहरूले नमान्दा लडाइँ भयो । लडाइँमा चार सय विद्रोही मारिए । त्यसपछि कर्णेल बस्नेतले प्रधानमन्त्री जङ्बहादुरसँग थप बल माग गरे तर सन् १८५८ अगस्ट ८ मा आमा गणेशकुमारीको निधन भएका कारण जङ्गबहादुरले तत्काल फौज पठाउन सकेनन् ।
सन् १८५८ सेप्टेम्बर २४ मा मात्र जङ्गबहादुरले कर्णेल रण उजिरको नेतृत्वमा चार रेजिमेन्ट फौज पाल्पा पठाए । त्यसै वर्ष सन् १८५८ अक्टोबर २४ मा जङ्गबहादुर स्वयं ११ रेजिमेन्ट फौज लिएर पाल्पा पुगे । नोभेम्बर १४ मा जङ्गबहादुर तानसेनबाट पाल्पाको नुवाकोट पुगेका थिए । त्यहाँ जङ्गबहादुरलाई भेट्न हजरत महल र उनका छोरा आइपुगे ।
नेपालमा शरण
जङ्गबहादुरलाई भेटेर हजरत महल र बिर्जिस कद्रले जीवनरक्षाको मागसहित नेपालमा शरण मागे । जङ्गबहादुरले शरणमा आएकालाई मरण दिनु हिन्दु मान्यताविपरीत हुने भन्दै उनीहरूलाई शरण दिने बताए । त्यसपछि जङ्गबहादुर त्यहाँबाट सुरहीखोला पुगे । त्यहाँ नेपाली सेनाको कारबाहीमा मरेका विद्रोहीका परिवारलाई भेटे । बरेलीका खानबहादुर खानसहित हत्या, अपहरणमा संलग्न ३५ सयभन्दा बढी विद्रोही ब्रिटिसलाई बुझाइए ।
विद्रोहीको अपहरणमा परेका १८ जना ब्रिटिसको पनि उद्दार गरियो । जङ्गबहादुर आउने खबरले अधिकांश विद्रोही त्यहाँबाट भागिसकेका थिए । त्यसैले हत्या, हिंसा र अपहरणमा संलग्न नदेखिएका बाँकी विद्रोहीलाई जङ्गबहादुरले दाङ, स्युराज, पाल्ही, माझखण्ड, नवलपुर र चितवनमा बसोबासको व्यवस्था मिलाए ।
जङ्गबहादुरले शरण दिएपछि हजरत महल, उनका छोरा बिर्जिस कद्र, धुन्धु पन्तकी आमा, रानी काँशीबाईसहित १५ सय विद्रोही काठमाडौँ आए । धुन्धु पन्त भने पछिसम्म चितवनमा लुकेर बसेका थिए । जङ्गबहादुरले हजरत महललाई मासिक चार सय रुपियाँ भत्तासहित काठमाडौँको थापाथलीमा राखे । उनका छोरा बिर्जिस कद्रलाई हाल सिंहदरबारको दक्षिणढोका रहेको ठाउँमा राखिएको थियो ।
यसरी रह्यो बागबजारको नाम
अन्य मुस्लिम विद्रोही जामे मस्जिद नजिक बसे । उनीहरूले त्यहाँ बगँैचा बनाए । मुस्लिमहरूले बगैँचालाई ‘बाग’ भन्ने हुँदा पछि त्यस क्षेत्रको नाम नै ‘बागबजार’ रहन गयो । बिर्जिस कद्रको निवास स्थान ‘बरफबाग’ नामले चिनियो । हाल बरफबागमा नेपाल सरकारको राष्ट्रिय अनुसन्धान केन्द्रको मुख्यालय रहेको छ । यसरी नेपालमा राजनीतिक शरण लिएकी लखनउकी रानी बेगम हजरत महलले काठमाडौँमा जीवनका अन्तिम दुई दशक बिताइन् । सन् १८७९ अप्रिल ७ मा ५९ वर्षको उमेरमा उनको निधन भयो । उनको पार्थिव शरीर जामे मस्जिद नजिक दफन गरियो ।
बागबजारको मुखमा रहेको बेगम हजरत महलको चिहान अर्थात् समाधिस्थल उनका वंशजको प्रयासपछि पत्ता लागेको थियो । त्यस कार्यमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सहयोग थियो । नेहरू नेपाल भ्रमणमा आएका बेला बेगमको समाधिस्थल पुगेका थिए । समाधिस्थल पहिचानका लागि काठमाडौँ आएका बेगमका पनातिले सन् १९६० मा प्रधानमन्त्री बिपी कोइरालालाई पनि भेटेका थिए । गोरखापत्र

