सरकारीमा सेवा नपाएपछि निजीतर्फ बिरामी

Published on

काठमाडौं । पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमित परिवारले उपचारमा सास्ती बेहोर्दै आएका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय र विश्वासिलो बन्न नसक्दा बिमाबाट सेवा लिने सेवाग्राहीले रेफर लिँदै निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य भएका छन् ।   बिमाबाट पाउनुपर्ने स्वास्थ्य सेवा सरकारीमा नपाएपछि रेफर लिएर निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता बनेको बिरामीको गुनासो छ । पाल्पामा ३७ हजार ८५६ भन्दा बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् । 

तीमध्ये अधिकांशले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा रेफर गरिएको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् । अधिकांश बिमित परिवारले आँखाको उपचारका लागि रेफर लिइरहेका छन् । त्यसैगरी दाँत, हाडजोर्नी, आकस्मिक सेवा, स्त्री, बालरोगमा पनि रेफर गरेको स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य छन् ।  रैनादेवी छहराका बासिन्दा श्रीकृष्ण आत्रेयले सरकारी अस्पतालले राम्रो सेवा दिन नसक्दा बिरामीलाई अनावश्यक झन्झट र सास्ती थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाबाट पाउने सेवा सरकारी अस्पतालबाटै पाउन पाए राम्रो हुने थियो तर यहाँ त सरकारी स्वास्थ्य संस्थाको काम उपचार गर्नेभन्दा पनि केवल रेफर गर्ने मात्र भयो ।” 

रेफरले बिरामीलाई सेवाभन्दा सास्ती बढी दिएको बिरामीका आफन्तको भनाइ छ । पाल्पाको रामपुर अस्पताल, तानसेनको पाल्पा अस्पताल, ताहुँ स्वास्थ्य केन्द्र, खस्यौली स्वास्थ्य केन्द्रलाई बिमा बोर्डले प्रथम सेवा बिन्दुका रूपमा तोकेको छ ।  तानसेन–भगवतीटोलकी सुनिता अधिकारीले यी संस्थामा कतै चिकित्सक नहुने, कतै आफूलाई चाहिएको सेवा नहुने समस्या हुँदा बिरामीले रेफर लिएर लुम्बिनी मेडिकल कलेज प्रभास र लायन्स लाकौल आँखा अस्पतालमा जानुपर्ने बाध्यता बनेको बताउनुभयो ।  उहाँले सरकारी स्वास्थ्य संस्थाले आफूले दिने सेवा विश्वासिलो र नियमित बनाउन नसक्दा पनि बिरामीले सास्ती बेहोर्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा नियमित चिकित्सक हुने र विशेषज्ञ सेवा विस्तार गर्ने हो भने बिरामीलाई रेफर गर्नु पर्दैनथ्यो तर सरकारी स्वास्थ्य संस्थाले आफ्नो सेवा सुधार गर्न सकेका छैनन् ।” 

रामपुर अस्पतालमा चिकित्सक नियमित नहुने समस्या छ । जिल्ला सरकारी अस्पतालमा चिकित्सक चार÷पाँच जना भए पनि भवन, सेवाका लागि आवश्यक प्रविधि र व्यवस्थापकीय कमजोरीका कारण अधिकांश बिरामी रेफर लिएर लुम्बिनी मेडिकल कलेजमा जाने गरेका छन् ।  जिल्लाका सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा कमजोर हुँदा बिमा बोर्डले सेवाका आधारमा भुक्तानी गर्ने रकमसमेत निजी स्वास्थ्य संस्थामा दोब्बरले बढी हुने गरेको स्वास्थ्य बिमा बोर्ड पाल्पाले जनाएको छ । बोर्डका प्रमुख विदुर अर्यालका अनुसार पछिल्लो छ महिनाको अवधिमा सरकारी अस्पतालले बिमाको सेवा दिएबापत चार करोड ८४ लाख भुक्तानी पाएका छन् । उहाँले निजी स्वास्थ्य संस्थाले आठ करोड ३४ लाख बढी भुक्तानी पाएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...