निर्माण अवधिभन्दा १ वर्ष अघि नै बन्यो १४८ मिटर लामो मोटरेबल पुल

Published on

काठमाडौं । खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो । जिल्लाका नागरिकले सोचिरहेका थिए, शिलान्यास भएर अलपत्र पर्नेमा अर्को एउटा पुल थपियोे । किनकी खोटाङमा विकासको चिनारी त्यसरी नै भएका छन्, सडक र पुलहरु शिलान्यास हुने तर अलपत्र पर्ने । खोटाङको विकासको खराब इतिहासलाई तोड्दै बुवाखोला पक्की पुलले नयाँ इतिहास रचेको छ । शिलान्यास भएको एक वर्षमा १ सय ४८ मिटर लामो पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान जोड्ने उक्त पुल निर्माणका लागि २०८१ साल वैशाख ३० गते योजना सम्झौता भएको थियो । ०८३ कात्तिक ३१ गतेसम्म पुल सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि एक वर्ष अगाडि नै निर्माण कम्पनीले निर्माण सम्पन्न गरेको हो । 

कोशी प्रदेश सरकारको १७ करोड ७० लाख १० हजार २६५ रुपैयाँ लागतमा जयवागेश्वरी रेग्मी चुरिया जेभीले निर्माण गरेको पुल औपचारिक उद्घाटन भएर सञ्चालनमा आएको हो । शिलान्यास भएको ठिक एक वर्षमा कोशी प्रदेश भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले पुल उद्घाटन गर्नुभएको छ । निर्माण अवधि भन्दा १ वर्ष अघि नै  निर्माण भएको पुल प्रदेश सरकारले निर्माण गरेको हालसम्मकै लामो पक्की पुल रहेको मन्त्री राईले बताउनुभयो । मन्त्री राईले पुल शिलान्यास गरेर निरन्तर अनुगन गर्नुभएको थियो । निर्माण कम्पनीले पनि पुलको काम रातदिन नभनी तीव्र गतिमा निर्माण कार्य गरेको थियो । पुल उद्घाटन गर्दै मन्त्री राईले हरेक विकास निर्माणका काम यसरीनै अघि बढ्नुपर्ने बताउनुभयो । सरकारले समयमै रकम भुक्तानी गर्ने र निर्माण कम्पनीले धमाधम काम गर्दा कुनै पनि संरचना अलपत्र नहुने उहाँको भनाइ छ।  

बुवाखोलामा पुल नहुँदा कक्षा १० मा पढ्दै गरेकी छोरीलाई खोलाले बगाएको सम्झिदै स्थानीय मैनटारका मानबहादुर तामाङले अब सबैलाई सहज हुने बताउनुभयो । पहिले बुवाखोलामा पुल निर्माण भएको भए आफ्नो छोरीको मृत्यु नहुने भन्दै मानबहादुर भावुक हुनुभयो । सोही बाटो भएर पहिले मानिसहरु ढाकर बोकेर हिँड्थे, पछि खच्चड हिँड्न थाल्यो, केही वर्ष अघि सडक आयो र हिउँदको समयमा सवारी साधन गुड्न थालेको स्थानीय सुनाउँछन् । खोलामा पक्की पुल निर्माण भएपछि अब सधै सवारी साधन आवतजावत गर्ने पुजन कार्की बताउनुहुन्छ । एक वर्षमै पुल सञ्चालनमा आएपछि गर्दा हुँदोरहेछ भन्ने लागेको स्थानीय भुवन राईको भनाइ छ ।  बुँवाखोलामा पुल निर्माणपश्चात् विशेष जन्तेढुङ्गा गाउँपालिका १ र २ र छिमेकी जिल्ला भोजपुरको आमचोक गाउँपालिकाका केही भूभागका नागरिक विशेष लाभान्वित भएका छन् । तराई आवतजावत गर्न बुवाखोला पुलले उनीहरुलाई ठुलो राहत प्रदान गरेको छ । नजिकै रहेको बंशिलाघाटस्थित दुधकोशीमा बेलिब्रिज जडानपश्चात् तराई आवजावतको छोटो दूरीको रुपमा उक्त सडक जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका ठाउँका मानिसलेसमेत प्रयोग गर्ने छन् ।  करिब एक महिनाभित्रमा बंशिलाघाटमा बेलिब्रिज निर्माण हुने कोशी प्रदेश सरकारले जनाएको छ । बंशिलाघाटमा पक्की पुल निर्माणाधीन छ । बुवाखोलाकै अर्को सडक खण्डमा पक्की पुल निर्माणको लागि कोशी प्रदेश सरकारले ठेक्का आह्वान गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...