राजधानीमै छैन पर्यटकको बसपार्क

Published on

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् । विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो ।  महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । 

कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् ।  हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी  र जनकपुरलगायतका प्रमुख पर्यटकीय स्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एसाेसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउनुहुन्छ । “सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”,  उहाँ भन्नुहुन्छ ।  राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् । टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउनुहुन्छ । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उहाँको भनाइ थियो । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...