मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु

Published on

काठमाडौं । मिथिला तथा तराई–मधेसको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको छ । प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु हुने १५ दिने पदयात्राको तयारी सुरु गरिएको हो । यस वर्ष फागुन ४ गतेदेखि सुरु भई २० गतेसम्म सञ्चालन हुने परिक्रमामा नेपाल र भारतका लाखौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालका ११ र भारतका चार गरी १५ पडाव स्थल पार गर्दै तीर्थयात्रीले नाङ्गो खुट्टा करिब १३३ किलोमिटर दूरी तय गर्ने परम्परा रहेको छ ।

मिथिला बिहारी मन्दिरका महन्थ नरेश दासले आगामी सोमबार बिहान कचुरीबाट झाँकीकीर्तनसहितको डोला जनकपुरधामको हनुमानगढी पुग्ने जानकारी दिनुभयो । सोही ठाउँमा जानकी मन्दिर, राम मन्दिरलगायत अन्य मठमन्दिरबाट आएका भगवानका डोला तथा भक्तजन एकत्रित भएर कल्याणेश्वरका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उहाँका अनुसार पहिलो दिन डोला कल्याणेश्वर पुग्नेछ । त्यसपछिका दिनमा मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर, औरही हुँदै पुनः कल्याणेश्वर पुगिनेछ । फागुन पूर्णिमाका दिन जनकपुरधाम फर्केर अन्तरगृह परिक्रमा गरी १५ दिने यात्रा समापन हुनेछ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा परिक्रमाको तयारीबारे बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले परिक्रमालाई विगत वर्षझैँ व्यवस्थित, सुरक्षित र अनुशासित ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको सहभागीले बताएका छन् । बैठकले निर्वाचन आचारसंहितालाई असर नपर्ने गरी परिक्रमा सफल बनाउन आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । नेपाल–भारत सीमा नाका बन्द रहेको अवस्थामा भारतीय तीर्थयात्रीको आवतजावतलाई सहज बनाउन सुरक्षा निकायबीच समन्वय गर्ने सुझाव दिइएको थियो । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्व भएकाले सीमा आवागमनमा सहजीकरण गर्न र पडाव स्थलमा खानेपानी, शौचालय, सडक मर्मत तथा बिजुलीको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णवले परम्परादेखि चल्दै आएको परिक्रमाको गरिमा जोगाइराख्न सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले तीर्थयात्रीका लागि खानेपानी, शौचालय तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने जानकारी दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले परिक्रमा अवधिमा सुरक्षा व्यवस्था चुस्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...