काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । सबैको ध्यान केन्द्रित भएको यस क्षेत्रमा उम्मेदवार यतिबेला मतदातासँगको भेटघाट र घरदैलोमा व्यस्त छन् । विगतका निर्वाचनमा राजनीतिक दलका स्थानीय संरचना र पार्टीको एजेन्डा बढी क्रियाशील हुने गरेकोमा यस पटक भने पार्टीभन्दा उम्मेदवारकेन्द्रित प्रचार बढी देखिएको छ । सम्बन्धित दलका उम्मेदवारहरू आफैँ सक्रिय भएर मत मागिरहेका छन् । एक साताअघिदेखि नै दमकलाई केन्द्र बनाएर नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाटमा हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह दुई दिनको घरदैलो कार्यक्रम सम्पन्न गरी फर्कनुभएको छ ।
यहाँको प्रतिस्पर्धालाई ‘प्रधानमन्त्रीको चुनाव’ का रूपमा चर्चा गर्न थालिएको छ । एमालेले ओलीलाई र रास्वपाले शाहलाई भाबी प्रधानमन्त्रीका रूपमा अघि सारेका कारण पनि यस क्षेत्रको निर्वाचनलाई महत्त्वका साथ हेरिएको हो । एमालेले ओलीको प्रभावशाली व्यक्तित्व र विगतमा भएका विकास निर्माणका कामलाई मुख्य आधार बनाएर मत मागिरहेको छ । रास्वपाले भने शाहको युवा क्रेज र नयाँ छविलाई अघि सार्दै ‘एक पटक नयाँलाई हेरौँ’ भन्ने नाराका साथ मतदाता फकाइरहेको छ । पाली कांग्रेसले पनि पार्टीको घोषणापत्रभन्दा उम्मेदवारलाई नै मुख्य ‘ब्रान्ड’ बनाएर प्रचार गरिरहेको छ । यस क्षेत्रको एकमात्र महिला उम्मेदवार मन्धरा पौड्याल भएको र दमकमा अनाथश्रम सञ्चालन गरी परोपकारी काम गरेकाले उहाँलाई उपयुक्त पात्रका रूपमा कांग्रेसले प्रस्तुत गरेको छ ।
यसैगरी, नेकपाका उम्मेदवार रञ्जित तामाङले पनि मतदाता भेटघाटलाई तीव्र पार्नुभएको छ । मतदाताले खोजेको नयाँ अनुहार र स्थानीय बासिन्दा नै तामाङ भएको भन्दै नेकपाले दुई प्रभावशाली उम्मेदवारको प्रतिस्पर्धाबिच आफूहरूले जित निकाल्ने दाबी गरेको छ । विद्यार्थी राजनीतिबाट आएकाले तामाङले युवाको भावना बुझ्ने स्थानीय नेताहरूको भनाइ छ । निर्वाचनमा राप्रपाका लक्ष्मी सङ्ग्रौला र श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका उम्मेदवार पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरूले अन्यको तुलनामा आफ्नो पार्टीको धारणा र फरक वैचारिक धारका आधारमा मतदातासँग मत मागिरहनुभएको छ । गोरखापत्र

