काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही क्षेत्र २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ सँग रुपन्देहीको सैनामैनाबासीले सुकम्बासी समास्या सामाधान गर्न आग्रह गरेका छन् । दशकौंसम्म यहाँका बासिन्दाले जग्गाको लालपुर्जा नपाएपछि स्थानीयले प्रायः सबै पार्टीका उम्मेदवारलाई याचना गर्नेगरेका छन् । सुकुम्वासी वस्तीका वासिन्दाको मुख्य गुनासो छ– “अघिपछि गाउँघरमा नेताहरू आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् ।” रुपन्देही –२ का उम्मेदवार विश्वदीपसँग सुकुम्बासीहरुले समस्या समाधानको माग गरेका हुन् । स्थानीय वासिन्दालाई सम्बोधन विश्वदीपले भन्नुभयो, ‘मेरो घर पनि सैनामैना बनकट्टामै पर्छ । म स्वयम् पनि लालपूर्जाविहीन नागरिक हुँ । आफ्नो घरको लालपूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु ।’ सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार यस पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन् । तीमध्ये वडा १ का एकसय ७३ वटा लालपूर्जा मात्र हालसम्म बाँडिएको छ । यस वडामा मात्र झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन् । अधिकांश वडामा नापजाँच भएको छैन ।
अर्का स्थानीय बीरबहादुर थापाले पनि सुुकुम्बासी समाधानका लागि कसैले पनि विषेश पहल अहिलेसम्म नगरेको गुनासो गर्नुभयो । यस निर्वाचन क्षेत्र २ मा सैनामैनाका वडा १, २ , ३ र ४ मात्रै पर्छन् । बुटवलको वडा ११ मा सबैभन्दा धेरै अव्यवस्थित र सुकुम्वासी वस्ती छन् । त्यहाँ रहेका झण्डै १९ हजार मतदातामध्ये ५० प्रतिशत अव्यवस्थित बसोवासी छन् । त्यस्तै वडा १, २, १८ र १९ पनि सुकुम्बासी धेरै भएका वडा हुन् । त्यसबाहेक तिलोत्तमाको वडा नं १, २, ३, ४, ५, र ६ वडा पनि यहीं क्षेत्रमा पर्छन् । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासी समस्या विद्यमान छ । वडा नं ३, ४ र ६ मा लालपूर्जा नपाएको बसोवासी बढी छन् भने अन्य वडामा पनि पूर्जाबिहीन वासिन्दा छन् । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासीको समस्या अन्यत्रजस्तै समान छ । एक लाख ३५ हजार ५० मतदाता रहेको यस क्षेत्र सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको क्षेत्र हो । गोरखापत्र

