झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

Published on

काठमाडौं । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् । उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् । विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्षेत्रमा चुनावको केही समयअघि मात्र आउने प्रचलन थियो । तर, यसपटक परिस्थिति बदलिएको छ । शीर्ष नेतालाई आफ्नो गढ जोगाउन रक्षात्मक रणनीति अपनाउन बाध्य बनाएको विश्लेषण गर्न थालिएको छ । मतदाताले उम्मेदवारलाई आफ्नै टोलमा भेट्न खोज्ने, उनीहरूसँग प्रत्यक्ष संवाद गर्न चाहने र स्थानीय समस्याको तत्काल जवाफ माग्ने प्रवृत्ति बढेपछि नेताहरूलाई घरदैलोमा पुग्नैपर्ने दबाब सिर्जना भएको हो ।

नेकपा (एमाले) का नेता देवेन्द्र दाहालका अनुसार मतदाताले उम्मेदवारसँग साक्षात्कार गर्न खोजेका हुन् । “यो उम्मेदवारका लागि पनि जनतालाई प्रत्यक्ष भेटेर गुनासो सुन्ने र समाधानका उपाय पहिल्याउने एउटा राम्रो अवसर हो,” उहाँले भन्नुभयो । झापामा पूर्वप्रधानमन्त्रीदेखि निवर्तमान सभामुख र नयाँ अनुहारबीच तीव्र प्रतिस्पर्धा छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ को गाउँबस्ती र घरदैलोमा निकै सक्रिय देखिनुहुन्छ । यस्तै, राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पनि झापा–३ मा निकै व्यस्त हुनुहुन्छ । उहाँ पुरानो साख जोगाउने र नयाँ मत तान्ने रणनीतिसहित अबेरसम्म टोल–टोलमा पुगिरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिले झापामा युवा र वैकल्पिक राजनीतिको चर्चा चुलिएको छ । रास्वपा नेता भेषराज भट्टराईका अनुसार मतदाताले खोजेको ठाउँमा शाह पुगिरहनुभएको छ । झापा–५ मा ओली र शाहको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । दुवै दलले उहाँहरूलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले यसलाई ‘प्रधानमन्त्रीको निर्वाचन’ का रूपमा समेत चित्रण गर्न थालिएको छ ।

यस्तै, झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर चुनावी मैदानमा हुनुहुन्छ । राजकीय भूमिकाबाट हटेर सामान्य नागरिक झैँ सुरक्षा घेराबाहिर रहेर उहाँहरू मतदाताका तिखा प्रश्नको सामना गर्दै मत मागिरहनुभएको छ । सोही क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं र माओवादी केन्द्रकी धर्मशिला चापागाईंले पनि घरदैलोलाई तीव्रता दिनुभएको छ । दमक–३ का सरोज चम्लागाईं भन्नुहुन्छ, “पहिले नेताहरूलाई टाढैबाट हेरिन्थ्यो, अहिले हाम्रै आँगनमा आइपुगेका छन् । यसले आफ्ना कुरा राख्न सजिलो भएको छ ।”

सुरक्षाकर्मीलाई भ्याइनभ्याई

शीर्ष नेता र ‘हाइप्रोफाइल’ उम्मेदवारहरूको बाक्लो उपस्थितिका कारण सुरक्षा व्यवस्थापनमा सुरक्षा निकायको सक्रियता बढेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शीर्ष नेताहरूको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिएको सुरक्षा स्रोतले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई...

देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै...

गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द...

अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचयपत्र

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण...