पुल निर्माणका लागि उम्मेदवारको हस्ताक्षर

Published on

काठमाडौं । तनहुँको दमौलीदेखि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड जोड्ने बुद्ध सिं मार्गअन्तर्गतको ‘घुमाउने पुल’ निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरूले सामूहिक लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । घुमाउने पुल/बुद्ध सिं मार्ग तथा अन्य पुल सरोकार एवम् सङ्घर्ष समितिले शनिबार आयोजना गरेको वृहत् भेलामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका उम्मेदवार भगवती न्यौपाने, रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले र नेकपाका उम्मेदवार विद्यानाथ ढकाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

विगत ११ वर्ष अगाडि सम्झौता भएको १०५ मिटर लम्बाई र ११ मिटर चौडाइको यो पुल हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको र यही सुस्त गतिले पूर्ण हुन अझै ३३ वर्ष लाग्ने देखिएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् । सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र स्थगित रहेको पुलको निर्माण कार्य तीव्र रुपमा सञ्चालनमा नआए पुनः सशक्त आन्दोलन सुरु गरिने बताउनुभयो ।

प्रतिबद्धता पत्रमा हालको पुलको संरचना कमजोर र जोखिमयुक्त देखिएकाले २०८२ साल भित्रै यसको विस्तृत परियोजना प्रतिवेदन प्रक्रिया अगाडि बढाउने र २०८३÷८४ सम्ममा नयाँ ठेक्का प्रक्रिया सुरु गरी निर्धारित अवधिभित्रै सम्पन्न गर्ने उल्लेख गरिएको छ । साथै बुद्ध सिं मार्ग सञ्चालनका लागि आवश्यक पर्ने अन्य खोलाहरू सुँढे, ढाँड, खानी, बाखे र भुत खोलामा समेत मोटरबेल पुल निर्माणका लागि आगामी आर्थिक वर्षहरूमा बजेट विनियोजन गर्न विजयी उम्मेदवारले नेतृत्व लिने र अन्य दलले ऐक्यबद्धता जनाउने सहमति भएको छ । दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विक्रम संवत् २०७० असार २८ गते भएको थियो ।

सङ्घर्ष समितिले २०८१ माघ १४ गते जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदा समेत पुल निर्माणको ठोस आधार नदेखिएपछि उम्मेदवारहरूलाई नै हस्ताक्षर गराएर लिखित प्रतिबद्धता माग गरेको हो । गण्डकी प्रदेशको राजधानी र चितवनलाई छोटो दुरीमा जोड्ने यो मार्ग र पुल निर्माण हुनु अति जरुरी रहेको सरोकार समितिले जनाएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन । यो पुल पुरा भएमा दमौलीबाट नारायण गढपुग्न २३ किलोमिटर छोटो हुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...