निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

Published on

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै जिम्मेवारीबोधका साथ कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आइतबार आयोजित निर्देशन सम्बोधनका क्रममा उहाँले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुबारे चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले फागुन २१ गतेकाे निर्वाचनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर कार्य गर्ने उल्लेख गर्नुभयो । सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीतिसहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ–आफ्नो क्षेत्रमा कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जालमार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरीको बलियो उपस्थितिका साथै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त पूर्व अभ्यासहरूलाई समेत प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्व तथा सामाजिक सञ्जालको प्रयोगमा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिबद्ध भई जिम्मेवारी वहन गर्न उहाँले जाेड दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको वातावरणलाई शान्तिपूर्ण बनाउनका लागि आ–आफ्नो क्षेत्रमा खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रको निर्माण एवम् मतदानस्थलमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलतामा कुनै पनि त्रुटि नहुने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको समयमा थप मद्दतको रूपमा खटिआउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । साथै कुनै पनि आर्थिक अपराध एवम् हुन्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अझ खरो रूपमा प्रस्तुत भई काम गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जनशक्ति व्यवस्थापन, आचारसंहिताको पालना, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र विद्यमान सुरक्षा चुनौतीबारे निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको...

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई...