चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

Published on

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा प्रवेश गर्दै एक महत्त्वपूर्ण चरणमा पुगेको छ, जसले भविष्यका चन्द्र अवतरण मिसनका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । आधा शताब्दीभन्दा बढीपछि मानवयुक्त चन्द्र परिक्रमा उडान पुनः सुरु भएको यो क्षणले वैज्ञानिक तथा ऐतिहासिक दुवै दृष्टिले विशेष अर्थ राखेको छ । ओरियन क्याप्सुलमा सवार तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा आफ्नो मार्ग परिवर्तन गर्दै पृथ्वीबाट अहिलेसम्मको सबैभन्दा टाढाको दूरीतर्फ अघि बढिरहेका छन् । यो उडानले केवल दूरीको रेकर्ड मात्र होइन, विविधताको नयाँ इतिहास पनि रचेको छ । भिक्टर ग्लोभर चन्द्र परिक्रमा गर्ने पहिलो रङको व्यक्ति बन्ने क्रममा हुनुहुन्छ भने क्रिस्टिना कोच पहिलो महिला बन्ने निश्चित भएको छ । त्यसैगरी, जेरेमी ह्यानसेन चन्द्र परिक्रमा गर्ने पहिलो गैर-अमेरिकीको रूपमा इतिहासमा अङ्कित हुनुहुनेछ । मिशन कमान्डर रिड वाइसम्यानको नेतृत्वमा टोलीले चन्द्रमाको अध्ययनलाई प्राथमिकतामा राखेको छ । चन्द्रमाको टाढाको भागमा पुग्दै गर्दा अन्तरिक्ष यात्रीले मानव आँखाले कहिल्यै प्रत्यक्ष नदेखेका दृश्य अवलोकन गर्न थालेका छन् । आइतबार नासाले सार्वजनिक गरेको तस्बिरमा ओरियन्टल बेसिन स्पष्ट देखिएको छ, जुन विशाल क्रेटरलाई कहिलेकाहीँ ‘चन्द्रमाको ग्रान्ड क्यानियन’ पनि भनिन्छ । 

यसअघि यस्ता दृश्य केवल स्वचालित क्यामेराबाट मात्र कैद भएका थिए । अन्तरिक्षबाट क्यानाडाली बालबालिकासँगको संवादमा कोचले उक्त बेसिन प्रत्यक्ष देख्न पाउँदा टोली अत्यन्त उत्साहित भएको बताउनुभयो । उडानको अन्तिम चरणतिर अन्तरिक्ष यात्रीले दुर्लभ खगोलीय दृश्य-सूर्यग्रहण-अवलोकन गर्ने अवसर पनि पाउने छन्, जहाँ सूर्य चन्द्रमाको पछाडि लुकेको अवस्थामा यसको बाहिरी तह ‘कोरोना’ स्पष्ट देख्न सकिनेछ । यससँगै उनीहरूले ‘ओरियन क्रु सर्भाइवल सिस्टम’ (ओसिएसएस) स्पेससुटको परीक्षण पनि गरिरहेका छन्, जसले आपतकालीन अवस्थामा छ दिनसम्म जीवन धान्न सक्ने हावा उपलब्ध गराउन सक्छ । यो मिशनले चन्द्रमामा अवतरण नगरे पनि चन्द्र परिक्रमा क्रममा पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानका अनुसार यस अभियानबाट सङ्कलित तथ्याङ्क आगामी आर्टेमिस-३ (२०२७) र आर्टेमिस-४ (२०२८) जस्ता चन्द्र अवतरण मिसनका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछन् । हालसम्म अन्तरिक्ष यात्रीले म्यानुअल पाइलटिङ अभ्यास सम्पन्न गर्नुका साथै चन्द्र सतहका विभिन्न भू-आकृतिको अध्ययन, तस्बिर सङ्कलन र उडान योजनाको समीक्षा गरिसकेका छन् । नासाले विशेष गरी अन्तरिक्ष यानको जीवन समर्थन प्रणाली र समग्र इकोसिस्टमको कार्यक्षमतामा ध्यान केन्द्रित गरिएको जनाएको छ । यो पहिलो पटक भएकोले अन्तरिक्ष यात्रीले यस यानबाट प्राप्त हुने प्रत्येक तथ्याङ्कलाई उच्च प्राथमिकताका साथ सङ्कलन गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...