काठमाडौं । बाँकेको खजुरामा सञ्चालन भइरहेको दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सीतापुर युनाइटेडको टीम पुगेको छ । सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेर प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलमा सीतापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । सीतापुरका लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मानवीका सुदीप सुनारले २७औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी भएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई ३–१ ले पराजित गरेको थियो । सीतापुर युनाइटेडका गोलकिपर विवेक थारुलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य डिबी तामाङ र आयोजक योगिनी युवा क्लबका सदस्य सन्तोष थापाले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गर्नुभयो ।
सोही प्रकारले अर्को खेलमा योगिनी युवा क्लब (ए)ले केवाइसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सो खेलमा आयोजक योगिनीका लागि विपिन सिंजाली मगर र गौरम थापा मगरले १–१ गोल गर्नुभएको थियो । खेलमा योगिनीका विपिन प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई स्थानीय समाजसेवी नरेन्द्र थापा र अमर रावतले पुरस्कार प्रदान गर्नुभयो । गोरखापत्र

