काठमाडौँ – लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द गरिएको छ। वर्षा नरोकिएसँगै सडकखण्डमा पहिरो जाने क्रम जारी रहेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले तत्कालका लागि आवागमन रोक्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि सडक खुलाउने प्रयासस्वरूप पहिरो हटाउने काम जारी रहेको प्रशासनले जनाएको छ।पहिरो हटाउने काम भइरहेको र वर्षाका कारण थप पहिरो जान सक्ने जोखिमसमेत रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सडकखण्डमा सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ। सडक खुलाउने अवस्था बनेपछि थप सूचना जारी गरिने बताइएको छ।
सवारी आवागमन बन्द रहने भएकाले यात्रु तथा सवारी चालकलाई सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ। लगातारको वर्षाका कारण सडक तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरिएको छ।


