देशभर झरी, आज र भोलि हावाहुरी र चट्याङसहित भारी वर्षा हुने सम्भावना

Published on

काठमाडौँ – कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगबाहेक देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो। निरन्तर वर्षा भए पनि शुक्रबार बिहानसम्म ठूला नदी तथा खोलामा ठूलो बाढी नआए पनि पानीको बहाव भने बढ्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। वर्षाको प्रभाव आइतबारदेखि क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। आज र भोलि जोखिम बढी हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक ठूलो वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। देशका अन्य स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बिहानदेखि गण्डकी प्रदेशको समग्र भूभाग र लुम्बिनी प्रदेशमा विशेषगरी महाभारत क्षेत्रदेखि तल्लो भूभागसम्म वर्षा केन्द्रित हुने सम्भावना छ। उनका अनुसार कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता तुलनात्मक रूपमा केही घट्न सक्ने देखिएको छ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले पनि आवश्यक पूर्वतयारी तथा उच्च सतर्कता अपनाएको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानका विद्यालयले बिदा दिएका छन् भने मुख्य राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ। नदी तथा खोलाको किनारमा रहेका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्।

मौसमविद्हरूले शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्था र सरकारी निकायले जारी गर्ने सूचना नियमित रूपमा हेर्न तथा आवश्यक परे सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा आवागमन बन्द

काठमाडौँ - लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द...

पशुपतिनाथ र बुद्धको सन्देशसँगै प्रधानमन्त्री शाहले टुंग्याए राष्ट्रसंघीय महासभा सम्बोधन

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको...

कांग्रेसको ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको...

एमालेद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग

काठमाडौँ - नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गते भएका घटनाको...