काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरका सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयमध्ये पहिलो भएको छ। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सूचकका आधारमा गरिएको कार्यसम्पादन परीक्षणमा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालयले ८३.३७ अंक प्राप्त गरेको हो। ईआरओको ‘शिक्षा विकास निर्देशनालयको कार्यसम्पादन परीक्षणको एकीकृत प्रतिवेदन २०८१/८२’ अनुसार सुदूरपश्चिमको कार्यसम्पादन स्तर ‘धेरै राम्रो’ रहेको छ।
निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार संघीय सरकारले उपलब्ध गराएको कार्य विवरणअनुसार कामको प्रभावकारिता, गुणस्तर, समयपालना, मितव्ययिता तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवाको अवस्थालाई आधार बनाएर कार्यसम्पादनको मूल्याङ्कन गरिएको हो। उनका अनुसार निर्देशनालयले आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न कार्ययोजना निर्माण, बजेटमा मितव्ययिता तथा तोकिएको समयमै काम सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको छ।
महानिर्देशक विष्टले कार्यसम्पादन परीक्षणको नतिजालाई आफूहरूले केवल अंकका रूपमा नभई कार्यालयको कार्यशैली र सेवाप्रवाहमा सुधार गर्ने अवसरका रूपमा लिएको बताए। उनका अनुसार परीक्षणबाट प्राप्त नतिजाले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न थप उत्साह मिलेको छ। विष्टको नेतृत्वमा रहेको निर्देशनालयको यो उपलब्धिलाई उनको विगतको कार्यसम्पादनसँग समेत जोडेर हेरिएको छ। उनी जिल्ला शिक्षा कार्यालय दार्चुलाको प्रमुख रहँदा २०६८, २०६९ र २०७० सालमा उक्त कार्यालय कार्यसम्पादनमा प्रथम भएको थियो। त्यसैगरी, डडेल्धुरा जिल्ला शिक्षा कार्यालयको प्रमुख रहँदा २०७१ र २०७२ सालमा पनि उक्त कार्यालय कार्यसम्पादनमा प्रथम भएको थियो। त्यतिबेला क्षेत्रीय शिक्षा निर्देशनालयले जिल्ला शिक्षा कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको थियो। उत्कृष्ट कार्यसम्पादन गरेबापत विष्टलाई ५० हजार रुपैयाँ नगदसहित उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको स्रोतमा उल्लेख छ।
ईआरओको प्रतिवेदनअनुसार सात प्रदेशमध्ये बागमतीले ८०.८७, कर्णालीले ७१.०३, गण्डकीले ६६.००, लुम्बिनीले ५७.९१, कोशीले ४९.७१ र मधेशले ३९.५१ अंक प्राप्त गरेका छन्। कार्यसम्पादन स्तरका आधारमा सुदूरपश्चिम र बागमतीलाई ‘धेरै राम्रो’, गण्डकी र कर्णालीलाई ‘राम्रो’, कोशी र लुम्बिनीलाई ‘सामान्य वा सन्तोषजनक’ तथा मधेशलाई ‘कमजोर’ श्रेणीमा राखिएको छ। महानिर्देशक विष्टले निर्देशनालयले हासिल गरेको उपलब्धि नेतृत्वको प्रयास मात्र नभई कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको बताएका छन्। उनले प्राप्त उपलब्धिले शिक्षा क्षेत्रमा अझ प्रभावकारी, गुणस्तरीय र सेवामुखी ढंगले काम गर्ने जिम्मेवारी थपिएको उल्लेख गर्दै आगामी दिनमा पनि कार्यसम्पादन सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

