भारतले गर्‍यो नेपालका लागि राजदूतमा सुधाकर दलेलालाई नियुक्त

Published on

काठमाडौँ – भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलेला नेपालका लागि राजदूत नियुक्त भएको औपचारिक जानकारी दिएको हो। उनले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ। दलेला यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। सन् २०२५ देखि उक्त जिम्मेवारीमा रहेका उनले आर्थिक कूटनीति, विकास साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा अफ्रिका र विश्वका विकासशील मुलुकहरूसँगको सहकार्यसम्बन्धी विषय हेर्दै आएका थिए। त्यसअघि उनले भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका दलेलाले लामो कूटनीतिक अनुभव हासिल गरेका छन्। उनले तेल अभिभबाट आफ्नो कूटनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।

उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यस्तै, सन् २०११ देखि २०१४ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा कार्य गरेका थिए। अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा समेत उनले जिम्मेवारी सम्हालेका थिए।

दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा पनि अनुभव छ। उनले भारतको वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार सङ्गठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन्। सन् २००६ देखि २००७ सम्म र सन् २०१६ देखि २०१९ सम्म भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखामा विभिन्न जिम्मेवारीमा रहँदा उनले नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषयमा नजिकबाट काम गरेका थिए।

भारतले विदेश मन्त्रालयका सचिवस्तरका कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलो पटक भएको समाचारमा उल्लेख छ। यसअघि नेपालका लागि भारतीय राजदूत रहिसकेका श्याम शरण र विनयमोहन क्वात्राले पछि भारतको विदेश सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए। दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय कूटनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। उनले औपचारिक रूपमा कार्यभार सम्हालेपछि दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार संकटमा, नयाँ गठबन्धनको गृहकार्य सुरु

जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी सुरु

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ। भ्रमणको औपचारिक...

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ - बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरका पूजाकोठामा...

ध्रुव राठी : युट्युबबाट सडक आन्दोलनसम्म

काठमाडौं । भारतका चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठी पछिल्लो समय सामाजिक सञ्जालबाट...