ट्रम्प प्रशासनद्वारा दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

Published on

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिनुभएको हो। पिगोटका अनुसार ट्रम्प प्रशासनले इतिहासमा अन्य कुनै पनि अमेरिकी प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरिरहेको छ। सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता अगस्ट १० सम्ममा रद्द गरिएका भिसाको सङ्ख्या १ लाख ७५ हजारभन्दा बढी पुगेको थियो। पछिल्लो तथ्याङ्कले त्यसयता भिसा रद्द गर्ने क्रम थप तीव्र भएको रोयटर्सले जनाएको छ।

ट्रम्प प्रशासनले भिसामा अमेरिका आएका विदेशी नागरिकले कानुन उल्लङ्घन गर्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधि गरेमा कुनै सहनशीलता नअपनाइने बताउँदै आएको छ। प्रशासनले आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई आन्तरिक सुरक्षा सुधार गर्ने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ।

तर मानवअधिकारका पक्षधरहरूले सरकारले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनीहरूले विशेषगरी जातीय अल्पसङ्ख्यक समुदायमाथि विभेदपूर्ण निगरानी र कारबाही भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएका घटनाको पनि मानवअधिकारवादीहरूले आलोचना गरेका छन्। त्यस्तै, अमेरिकी दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका विदेशी नागरिकको भिसा रद्द गरिएपछि पनि विवाद उत्पन्न भएको थियो।

ट्रम्प प्रशासनले आप्रवासी तथा भिसा आवेदकको सामाजिक सञ्जाल जाँचलाई समेत कडा बनाएको छ। यसका अतिरिक्त, केही कार्य भिसामा महँगो शुल्क लगाइएकाले कानुनी रूपमा अमेरिका जान चाहने विदेशी नागरिकका लागि पनि प्रक्रिया कठिन बनेको भन्दै आलोचना भइरहेको छ। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर उहाँको प्रशासनका पछिल्ला नीतिले कानुनी रूपमा अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकलाई समेत असर पारेको भन्दै आलोचना भइरहेको छ।

spot_img

ताजा समाचार

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...

आज बडादसैँको मुख्य दिन विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ।...

विजयादशमीको शुभकामना दिँदै प्रधानमन्त्रीको आह्वान: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि...