इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

Published on

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी डलर आर्थिक तथा सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गर्नुभएको छ ।

मंगलबार फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’सँग कुरा गर्दै ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सहायता रोक्ने विषयमा सहमति भइसकेको बताउनुभएको हो । यद्यपि इसराइललाई आवश्यक परे हतियार बिक्री तथा अन्य सहयोग भने जारी रहने उहाँले स्पष्ट पार्नुभएको छ ।

इसराइललाई अमेरिकी आर्थिक सहायताको आवश्यकता नरहेको दाबी गर्दै ट्रम्पले उक्त रकमलाई लिएर डेमोक्रेटिक पार्टीले रिपब्लिकनमाथि आलोचना गर्ने गरेको बताउनुभयो ।

अमेरिका र इसराइलबीच सन् २०१६ मा भएको १० वर्षे सम्झौताअनुसार अमेरिकाले वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । उक्त सम्झौता सन् २०२८ को सेप्टेम्बरमा सकिने भएकाले ट्रम्पको घोषणाले विद्यमान सम्झौतामा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भएको छैन ।

ट्रम्पको घोषणाप्रति इसराइलका विपक्षी नेता गादी आइजेनकोटले असन्तुष्टि जनाउनुभएको छ । इसराइलको सुरक्षा निकाय र नागरिकले दुई देशबीचको रणनीतिक सम्बन्धमा परिवर्तन हुन लागेको कुरा सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने अवस्था आएको भन्दै उहाँले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्नुभएको छ ।

गाजामा इसराइलको सैन्य कारबाहीपछि अमेरिकी सहयोगबारे अमेरिकाभित्रै असन्तुष्टि बढ्दै गएको छ । डेमोक्रेटिक पार्टीका साथै रिपब्लिकन पार्टीभित्रकै केही नेताले पनि इसराइललाई दिइने सहायता र मध्यपूर्वको द्वन्द्वमा अमेरिकी संलग्नतामाथि प्रश्न उठाउँदै आएका छन् ।

spot_img

ताजा समाचार

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...

विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित...