काठमाडौं – सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतले मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै यस विषयमा निर्णय हुने आदेश गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सरकारले उहाँको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो। रिटमाथि भएको पहिलो सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
दुवै पक्षको बहसपछि संयुक्त इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको ठहर गरेको हो। यससँगै सरकारको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाउने आदेश सर्वोच्चबाट जारी भएको छैन।

