चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडकखण्ड हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभीरमा मङ्सिर ५ गतेदेखि दिउँसो सवारी आवागमन रोकेर सुक्खा पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम भइरहेको थियो ।
घोप्टेभीरको पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम सम्पन्न भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यससँगै मुग्लिन-पोखरा र मुग्लिन-काठमाडौँ सडकखण्डमा यातायात सहज भएको छ । यसैबीच, नारायणगढ-मुग्लिन सडकखण्डमा भने आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोला क्षेत्रमा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकिनेछ । उक्त समयमा काठमाडौँ-मुग्लिन-आँबुखैरेनी हुँदै पोखरा आवतजावत गर्ने सवारीसाधनको आवागमन भने प्रभावित नहुने प्रशासनले जनाएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयतालिका ध्यानमा राखेर यात्रा गर्न आग्रह गरेको छ ।

