काठमाडौँ – म्यानमारको सैन्य शासनले विवाह समारोह स्थल, विद्यालय तथा आवासीय क्षेत्रमा गरेको हवाई आक्रमणमा ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेको स्थानमा सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य ३५ जना घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।
यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा गरिएको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । म्यानमारको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्ट (एनयूजी)का अनुसार मृतकमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसमेत रहेका छन् । त्यस्तै, शनिबार साँझ पश्चिम म्यानमारको राखाइन राज्यस्थित म्राउक–यू सहरको आवासीय क्षेत्रमा पनि सेनाले हवाई आक्रमण गरेको थियो । स्थानीय समयअनुसार राति ८ बजे गरिएको बमबारीमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको समाचारमा उल्लेख छ ।
मग्वे क्षेत्रमा सैन्य शासनविरुद्ध प्रतिरोधी समूहहरू सक्रिय छन् भने म्राउक–यू क्षेत्र अराकान आर्मी (एए)को नियन्त्रणमा रहेको छ । अराकान आर्मी म्यानमारको सैन्य शासनविरुद्ध संघर्षरत प्रमुख जातीय सशस्त्र समूहहरूमध्ये एक हो । लगातार भएका यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वले भने कुनै प्रतिक्रिया दिएको छैन । पछिल्ला घटनाले सैन्य शासन र विद्रोही समूहबीचको द्वन्द्वमा सर्वसाधारणको सुरक्षामाथि गम्भीर जोखिम बढेको देखिएको छ ।

