युक्रेन युद्धपछि मोदी-बाइडेन भेट

Published on

टोकियो — रुसले युक्रेनबारे रुसलाई हेर्ने अमेरिका र भारतको दृष्टिकोणमा भिन्नता कायमै रहेका बेला दुई देशका प्रमुख नेतृत्वबीच भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार टोकियोमा भएको वार्ता फलदायी भएको जनाएको छ ।
वार्तापछि द्विपक्षीय साझेदारी थप बलियो र गतिशील हुने मन्त्रालयको अपेक्षा छ । दुई देशका नेताबीच क्वाड सम्मेलनका क्रममा साइडलाइन वार्ता भएको हो ।

वार्तामा दुई देशबीच रणनीतिक साझेदारी, लोकतान्त्रिक मूल्य र कानुनी शासनका आधारमा अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्ने प्रतिबद्धता भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बैठकका क्रममा दुई देशको उच्च नेतृत्वबीच नियमित उच्चस्तरीय वार्तालाई निरन्तरता दिने सहमति जुटेको छ । वार्तामा रक्षा र सुरक्षा सहयोग दुई देशका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै द्विपक्षीय सहयोग थप सुदृढ गर्ने उपायबारे पनि छलफल भएको जनाएको छ । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको जनसम्बन्धलाई थप सुदृढ गर्न उच्च शिक्षाको सहकार्य अझै बढाउन आग्रह गरेका छन् ।

नेताहरूले स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्रका लागि साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्दै क्षेत्रीय मुद्दाहरूमा पनि समान विचार आदानप्रदान गरेका जनाइएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता दुई नेताबीच पहिलोपटक भेट भएको हो । आक्रमणपछि अमेरिकासहित पश्चिमा राष्ट्रहरूले रुसमाथि अनेकौं प्रतिबन्ध लगाएका छन् । रुसलाई विश्वबाट अलग पार्ने पश्चिमा देशको कोसिसमा भारतले भने साथ दिएको छैन । रुसमाथि कुनै प्रतिबन्ध नलगाएको भारतले युद्धको अवधिमा पनि द्विदेशीय व्यापारलाई निरन्तरता दिएको छ । भारतको यस्तो रणनीतिप्रति भने अमेरिका रुष्ट छ ।

क्वाडमा रहेका भारतबाहेक बाँकी तीन राष्ट्रले युक्रेन युद्धमा रुसी रवैयाको विरोध गर्दै आएका छन् । भारतले भने तटस्थ विदेश नीति अपनाएको छ । संयुक्त राष्ट्रसंघमा रुसविरुद्ध भएका मतदानमा भारतले आफूलाई अलग राख्दै आएको छ । एजेन्सी ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...