दुई देशको डम्पिङ साइट बन्दै महाकाली नदी

Published on

काठमाडौं । नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै छ। नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको छ। नेपालतर्फ बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाटका शौचालयको ढल सिधै महाकालीमा मिसिन्छ भने दार्चुलाको महाकाली नगरपालिकाको डम्पिङ साइट महाकाली नदीछेउमै छ। उता भारततर्फको झुलाघाट बजार र धार्चुला बजारको फोहोर पनि महाकाली नदीमै मिसिएको छ।

दशरथचन्द नगरपालिकाले स्वच्छ सफा नगरको नारा अघि सारेर सडक किनारमा फूल रोपेर बजार क्षेत्र चिटिक्क बनाए पनि ढल निकास तथा कुहिने र प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा नदी प्रदूषित बनेको हो। भारतमा प्लास्टिकका झोला प्रयोग गर्न नपाइने हुँदा उताको प्लास्टिकजन्य फोहोर नदीमा आउँदैन तर शौचालयका ढल भने महाकालीमै मिसिने गरेको भारतका सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो। नदी किनारमा फोहोर थुप्रिन थालेको गुनासो बढेपछि भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशीले अनुगमन गरेसँगै नदी किनारको फोहोर उठ्न थालेको उहाँले बताउनुभयो। महाकाली नदी दुवै देशको धार्मिक र सांस्कृतिक विरासत जोड्ने पवित्र नदी भएकोले नदीको स्वच्छताका विषयमा दुवै देशका सरकार र नागरिक जिम्मेवार बन्नुपर्ने भारतको मजिरकाँडा ग्राम पञ्चायत सदस्य दिवाकर भट्टले बताउनुभयो। नेपालतर्फ बैतडी सदरमुकाम, गढी, गोठालापानी, शाहीलेक र दार्चुला सदरमुकामको महाकाली नगरपालिका क्षेत्रमा प्लास्टिकका झोलाको अत्यधिक प्रयोग हुने गरेको छ। त्यसमाथि मदिराका खाली सिसी बोतल पनि फोहोरमै मिसिने गरेका छन्।

बाह्रै महिना महाकालीको पानी पिउने पञ्चेश्वर–२ का बासिन्दामा झाडापखालाका बिरामी बढी
दशरथचन्द नगरपालिकाले कुहिने र नकुहिने फोहोर बजार क्षेत्रबाट उठाएर खोलानालामा फ्याँक्ने गरेको छ। डम्पिङ साइट सुनिश्चित गर्न नसक्दा पनि नगरको सबै फोहोर महाकालीमै मिसिने गरेको छ। दार्चुलाको महाकाली नगरपालिका र बैतडीको दशरथचन्द नगरपालिकासँग शौचालयका ढल व्यवस्थित गर्ने योजना नहुँदा खुला दिसामुक्त घोषणा भएका जिल्लाको पिउने पानीमा पटक–पटक कोलिफर्मका जीवाणु भेटिने गरेका छन्।

महाकालीकै पानीमा जीवन निर्वाह

बैतडीको दशरथचन्द नगरपालिकादेखि पञ्चेश्वर र शिवनाथ गाउँपालिकासम्म बग्ने महाकाली नदी तटले करिब ६५ किलोमिटर क्षेत्र ओगटेको छ। दशरथचन्द नगरपालिकाका वडा नं। ६, ८ र १०, पञ्चेश्वर गाउँपालिकाका वडा नं। १, २, ३, ४ र ५ तथा शिवनाथ गाउँपालिकाका–२ का गरी दुई हजार पाँच सय घरधुरी महाकालीको पानीमा निर्भर छन्। बाह्रै महिना महाकालीको पानी पिउनु पर्दा गाउँमा झाडापखालाका बिरामी बढ्ने गरेको पञ्चेश्वर गाउँपालिका–४ का अमृता चन्दले बताउनुभयो। महाकाली नदी पहिलेभन्दा दिन प्रतिदिन प्रदूषित बन्दै गएको उहाँले बताउनुभयो। खानेपानीको अर्को विकल्प नहुँदा जति फोहोर भए पनि महाकालीकै पानी पिउनुपर्ने बाध्यता रहेको पञ्चेश्वर विनायक गाउँका वीरेन्द्र चन्दले बताउनुभयो। नदीमा मिसिने मानव मलमूत्र र प्लास्टिकजन्य फोहोरका कारण महाकाली नदीको पानीमा पीएचपी ९क्षारीयपना० पनि बढेको छ। दुई वर्षअघि अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले महाकालीको पानीको शुद्धता जाँच्दा ८ दशमलव ८ प्रतिशत क्षारीयपना भेटिएको थियो, जुन पिउनयोग्य नभएको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताउनुभयो।

‘गोल्डेन महाशिर’ सङ्कटमा

नदीमा मिसिने ढल र जथाभावी फालिने प्लास्टिकलगायतका फोहोरले महाकाली नदीमा पाइने लोपोन्मुख ‘गोल्डेन महाशिर’ माछालगायतका जलचर सङ्कटमा पर्दै छन्। आहाराका लागि पश्चिम बङ्गालको खाडीसम्म पुग्ने गोल्डेन महाशिर समुद्रको पानी नुनिलो हुने भएकाले फुल पार्न र भुरा हुर्काउन सफा पानी खोज्दै महाकालीमै आउने गर्छ तर नदीमा बगेर आउने ढल, प्लास्टिकजन्य फोहोर र मदिराका खाली सिसी बोतलका कारण जलचरको स्वास्थ्यमा असर देखिएको महाकाली किनारमा बसोबास गर्दै आउनुभएकी ममता कार्कीले बताउनुभयो। महाकालीमा पछिल्लो समय गोल्डेन महाशिर कम भेटिने गरेको उहाँको भनाइ छ।

आहाराको खोजीमा समुद्रसम्म पुग्ने गोल्डेन महाशिर फुल पार्न र भुरा हुर्काउन महाकाली आउने गरेकोमा अहिले त्यसको सङ्ख्यामा कमी
शौचालयको मलमूत्र, नगरपालिकाको फोहोर र नदी किनारका खेतबारीमा विषादी प्रयोग भइरहेका कारण पनि महाकालीको पानीको शुद्धतामा असर गरिरहेको स्थानीयवासीले बताएका छन्। शौचालयका ढल व्यवस्थित गरिदिन पटक–पटक नगरपालिकामा गुनासो राखे पनि कुनै सुनुवाइ नभएको स्थानीय बासिन्दाले बताएका छन्। नदी किनारलाई डम्पिङ साइटका रूपमा प्रयोग गर्दा महाकालीको पानीको शुद्धता बिग्रँदै गएको डिभिजन खानेपानी कार्यालय बैतडीका कार्यालय प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो। उहाँले भन्नुभयो, “दार्चुला सदरमुकाम र बैतडीको झुलाघाट बजारको फोहोर र शौचालयको मलमूत्र सिधै महाकालीमा फाल्ने गरिएको छ। यो विषयमा स्थानीय सरकारले गम्भीर भएर सोच्नुपर्छ। सहर सफा गर्ने तर नदी दूषित गर्ने काम राम्रो होइन, यो तुरुन्तै नियन्त्रण हुनुपर्छ।” महाकाली नदीमा मिसिने फोहोर नियन्त्रणका लागि प्रयास गरिए पनि डम्पिङ साइट बनाउने ठाउँ नहुँदा फोहोर व्यवस्थित गर्न नसकिएको महाकाली नगरपालिका दार्चुलाका उपप्रमुख दुर्गाकुमारी खत्रीले बताउनुभयो।

ढलबाटै बन्न सक्छ मल

बैतडी र दार्चुला सदरमुकामका अव्यवस्थित शौचालयको ढलबाट बैतडीको सतबाँझमा रहेको सुक्खा फलफूल विकास केन्द्रका लागि मल बन्न सक्ने सम्भावना छ। नगरपालिकाले शौचालयका सेफ्टी ट्याङ्की सफा गर्ने उपकरण ल्याउन सके बजार क्षेत्रका शौचालय व्यवस्थित बन्न सक्ने बैतडीका स्थानीय परमानन्द पाण्डेयले बताउनुभयो। उहाँले भन्नुभयो, “शौचालयका सेफ्टी ट्याङ्की खाली गर्ने ठाउँ छैन। शौचालय भरिएर खुला दिसा गर्नुपर्ने बाध्यता छ। नगरपालिकाले निश्चित शुल्क लिएर भए पनि शौचालयका ढल निकास गर्ने उपकरण ल्याउन सके नगरपालिकाको कर पनि बढ्छ र स्वच्छ सफा नगर पनि बन्न सक्छ।”

दशरथचन्द नगरपालिका–१, गुरु खोलासँगै जोडिएको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले वार्षिक दुई लाख रुपियाँको मल किन्दै आएको छ। सरकारी स्वामित्वमा रहेको केन्द्रको २९ हेक्टर क्षेत्रफलमा ५० हजारभन्दा बढी ओखर, कागजी, बदाम, जैतुनलगायतका बिरुवा हुर्किन्छन्। बिरुवा र बगैँचा हुर्काउन केन्द्रले ट्याक्टर भाडामा लिएर गाउँबाट प्रतिडोको ५० रुपियाँका दरले गोठेमल किन्ने गरेको प्राविधिक अर्जुन खड्काले बताउनुभयो। सहरका शौचालयबाट मलमूत्र सङ्कलन गरेर मल बनाउन सकिने खड्काले बताउनुभयो। गोरखापत्र

ताजा समाचार

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्नुहुँदै सशस्त्र प्रहरी...

संसद्‌मा कांग्रेसको अवरोध कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति...

घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

काठमाडौं । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय...

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु। एक हजार दुई सयले...