अमेरिकामा आँधी : छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

Published on

काठमाडौं । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो सहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन् भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ । अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् ।

ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए ।
अमेरिकी सरकारको तुफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ । राष्ट्रिय मौसम सेवाले भारी मेघगर्जन र हुरीका साथ असिना पानी पर्ने पूर्वानुमान गरेको छ । पेन्सिल्भेनिया र न्युयोर्कका केही भागसहित पूर्वोत्तर क्षेत्रमा आँधी र असिनाको जोखिम रहेको भन्दै उक्त सेवाले सचेत रहन आग्रह गरेको छ ।

अर्कान्सास राज्यका गभर्नर साराह हकाबी स्यान्डर्सले राज्यमा आपत्कालीन अवस्थाको घोषणा गर्दै राष्ट्रिय सुरक्षाकर्मीलाई पुनः स्थापना तथा सहयताका प्रयासमा सक्रिय हुन निर्देशन लिनुभएको छ । उहाँले राष्ट्रपति जो बाइडेनसँग आँधीले गरेको विनाशबारे छलफल गर्नुभएको छ । राष्ट्रपतिले आँधी प्रभावित क्षेत्रमा सङ्घीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभएको छ । मिसिसिपीमा गत साता आएको आँधीमा परी २६ जनाको ज्यान गएको थियो । त्यहाँको सानो सहर रोलिङफार्क पूर्णरूपमा तहसनहस भएको थियो । करिब दुई हजार बासिन्दा रहेको उक्त स्थानको स्थलगत निरीक्षणमा पुग्नु भएका राष्ट्रपतिले आँधीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रकट गर्नुभएको छ ।

निरपेक्ष गरिबीको रेखामुनि रहेका त्यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपतिले सङ्घीय सरकारलाई आदेश दिनुभएको थियो । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उहाँले आदेश दिनुभएको हो । रासस/एपी

ताजा समाचार

राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए : आगामी दिनमा सुधार गर्छौँ स् कप्तान पौडेल

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै...

हामी जतिसक्दो महाकाली पुल छिटो सम्पन्न गर्ने पक्षमा छौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्णाधिन चारलेनको पक्की पुल निमार्णको अन्तिम चरणमा...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई...