आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला

Published on

काठमाडौं । नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताउनुभयो । उक्त तीन कन्टेनर अहिले मितेरी पुल काटेर चिनियाँ भू–भागको झाङ पोर्ट, पार्किङ पुन निमार्ण भइरहेको बजार इलाका भेगमा पुगेको छ । 

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो । 

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो । 

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानिधि केसीले बताउनु भएको छ । स्याउ, लसुन, उन, रोल कपडा लगायतका सामान आयात हुँदै आएको थियो । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजश्व सङ्कलन लक्ष्य लिएकोमा हालसम्म दुई अर्ब २० करोड सङ्कलन भएकोमा केसीले बताउनु भएको छ । भूकम्प अघि उक्त नाकाबाट वार्षिक २० अर्बको आयात र दुई अर्बको निर्यात हुने गर्दथ्यो । त्यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपियाँ राजश्व आम्दानी गर्दथ्यो । चीनको खासाबाट ११४ किलोमिटर दुरीमा काठमाडौँ पुग्न सकिन्छ भने रसुवागढी नाका १६४ किलोमिटर दुरीमा पर्छ । 

मितेरी पुल लिपिङदेखि बाह्रबिसे सम्मका २६ किलोमिटर सडक क्षतिग्रस्त छ । भूकम्पपछि चीनको आरसिसी र ताइन सुन निमार्ण कम्पनीले उक्त सडक मर्मत सुधार गरे पनि अहिले उक्त सडक खण्डहर बनिसकेका छन् । भोटेकोसी नदीले उक्त सडकको खण्ड–खण्ड तानेको छ । माथिबाट आएको पहिरोले सडक नाजुक हालतमा छ । सीमासँग जोडिएको भोटेकोसी गाउँपालिका–२ लिपिङबजार, कोदारी बजार, तातोपानी धारा स्थित बजार, १० किलो स्थित बजार, खोकुण्डोल, चाकु लगायतका बजार क्षेत्रका घर भूकम्पले ढालेपछि पुन निमार्ण भएका छैनन् । मितेरी पुल जोडिएका लिपिङ र कोदारीमा बिजुली आउने–जाने समस्या छ । टेलिफोन, मोबाइलका टावर टिप्दैनन् । लिपिङबजार देखि बाह्रबिसे सम्मका भूगोलको अवस्था कमजोर भएका कारण समाधानका लागि माथिल्लो तहमा सम्पर्क भइरहेको प्रजिअ न्यौपानेले बताउनु भयो । गाेरखापत्र ।

spot_img

ताजा समाचार

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...