आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला

Published on

काठमाडौं । नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताउनुभयो । उक्त तीन कन्टेनर अहिले मितेरी पुल काटेर चिनियाँ भू–भागको झाङ पोर्ट, पार्किङ पुन निमार्ण भइरहेको बजार इलाका भेगमा पुगेको छ । 

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो । 

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो । 

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानिधि केसीले बताउनु भएको छ । स्याउ, लसुन, उन, रोल कपडा लगायतका सामान आयात हुँदै आएको थियो । चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजश्व सङ्कलन लक्ष्य लिएकोमा हालसम्म दुई अर्ब २० करोड सङ्कलन भएकोमा केसीले बताउनु भएको छ । भूकम्प अघि उक्त नाकाबाट वार्षिक २० अर्बको आयात र दुई अर्बको निर्यात हुने गर्दथ्यो । त्यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपियाँ राजश्व आम्दानी गर्दथ्यो । चीनको खासाबाट ११४ किलोमिटर दुरीमा काठमाडौँ पुग्न सकिन्छ भने रसुवागढी नाका १६४ किलोमिटर दुरीमा पर्छ । 

मितेरी पुल लिपिङदेखि बाह्रबिसे सम्मका २६ किलोमिटर सडक क्षतिग्रस्त छ । भूकम्पपछि चीनको आरसिसी र ताइन सुन निमार्ण कम्पनीले उक्त सडक मर्मत सुधार गरे पनि अहिले उक्त सडक खण्डहर बनिसकेका छन् । भोटेकोसी नदीले उक्त सडकको खण्ड–खण्ड तानेको छ । माथिबाट आएको पहिरोले सडक नाजुक हालतमा छ । सीमासँग जोडिएको भोटेकोसी गाउँपालिका–२ लिपिङबजार, कोदारी बजार, तातोपानी धारा स्थित बजार, १० किलो स्थित बजार, खोकुण्डोल, चाकु लगायतका बजार क्षेत्रका घर भूकम्पले ढालेपछि पुन निमार्ण भएका छैनन् । मितेरी पुल जोडिएका लिपिङ र कोदारीमा बिजुली आउने–जाने समस्या छ । टेलिफोन, मोबाइलका टावर टिप्दैनन् । लिपिङबजार देखि बाह्रबिसे सम्मका भूगोलको अवस्था कमजोर भएका कारण समाधानका लागि माथिल्लो तहमा सम्पर्क भइरहेको प्रजिअ न्यौपानेले बताउनु भयो । गाेरखापत्र ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...