भडा संस्कृतिका अद्वितीय प्रतिभा : झुसे दमाई 

Published on

हेमबाबु लेखक , महेन्द्रनगर । मानसखण्ड अन्तर्गत बैतडी जिल्लाकाे सदरमुकाम दशरथचन्द नगरपालिका-५, बस्काेटमा जन्मेका झुसे दमाई काली-कर्णाली र कुमाउँ-गढवालकाे ऐतिहासिक वीरगाथा(भडा वा भारत) का अत्यन्तै पारंगत जानकार थिए । वि.सं.१९६६ सालमा जन्मेर पिथौरागढ ढुङाताेली गाउँमा बसाेबास गर्ने झुसे दमाई आफ्नो इष्टदेवी रणशैनीका हरेक पर्वमा बैतडी आइरहन्थे । यो उनको आफ्नो कुलदेवताप्रतिकाे निष्ठा थियो । २०६१ सालमा पनि त्रिपुरा रणशैनी जात्राकाे अर्को दिन मन्दिर नजिकै चौरा भन्ने स्थानीय बजारमा उनलेे देहत्याग गरेका थिए । त्यतिबेला उनी ९५ वर्षका थिए ।


बैतडी सदरमुकाममा अवस्थित प्रसिद्ध जगन्नाथ र रणशैनी(त्रिपुरासुन्दरी) भगवती लगायतका मन्दिरका आधिकारिक द्यौलीया तथा नवधी वादकका रुपमा उनको प्रसिद्धि यहाँका देवीदेउताले खानदानी विरासतकै रुपमा दिएको मान्यता छ ।
अहिले पनि उक्त मन्दिरमा झुसे दमाईका भाइ-बिरादरीका गाेतियारहरुकै नवधीलाई मात्रै आधिकारिक मानिन्छ । पर्वनित्य पूजाका दिन या नवरात्रीमा या जाँत(मेला)मा समेत झुसे दमाईकै भाइबन्धुले द्यौल नबजाउदासम्म त्यहाँका लेखक र भट्ट पुजारीले ‘गब्यूर’भित्र आधिकारिक पूजा लगाउन पाइदैन । भनिन्छ, झुसे दमाईका पारिवारिकजन बस्काेटका उनका बिरादरीमध्येका वादकहरुले द्यौल बजाएपछि मात्रै जगन्नाथ, रणशैनी समेतका सबै देउताले पर्वविशेष पूजा स्विकार गर्दछन् ।


बैतडी सदरमुकाम र साेराड क्षेत्रका मानिसहरूकाे इष्टमित्र, बिरादरी र बिहेवारी वारीपारी(नेपाल-भारत) भैरहने पुरानो परम्परा अद्यापि चलिरहेकै छ । सबै जातजाति र समुदायका मानिसको विवाह परम्परा मात्रै नभएर जग्गाजमिन समेत सदियौदेखि वारीपारी(नेपाल-भारत) मा रहिआएको छ । झुसे दमाईकै विवाह समेत नेपाल र भारत दुवै ठाउँबाट भएको देखिन्छ । उनलेे सरस्वतीदेवी र हजारीदेवी दुई श्रीमती विवाह गरेका थिए । र उनको समेत जग्गाजमिन नेपाल-भारत दुवै ठाउँमा छ । जुन सम्पत्तिमा उनका छाेरानातिहरुकाे स्वामित्व रहेको छ । तर नेपालको बैतडी सदरमुकाम बस्काेटमा रहेको पुर्ख्यौली सम्पत्ति अहिले उनका भाइबन्धुहरुले रेखदेख गर्दैआएका छन् ।
झुसे दमाईकाे सबैभन्दा आकर्षक र विलक्षण प्रतिभा भनेकाे उनको ऋतुगायन(चैत महिनामा घरघरमा गएर सजुदेउ वालाकाे भडा) र  वीरगाथा नै मानिन्छ । जसले गर्दा उनलेे नेपालमा भन्दापनि भारतमा ज्यादा प्रसिद्धि कमाए । भारतको कुमाउ र नेपालको कालीकर्णालीतिर ऐतिहासिक वीरवीराङ्गनाहरुकाे जीवन चरित्रमा आधारित गीतिकथालाई भडा भन्ने गरिन्छ ।

झुसे  दमाई यसमा पारंगत मानिन्छन् । उनको शेषपछिका झन्डै दुई दशकसम्म पनि उनलाई पछ्याउन सक्ने वा उनको बराबरी गर्नसक्ने अर्को कुनै भडा गायक कुमाउ र कालीकर्णाली क्षेत्रमा देखिएका छैनन् ।
बैतडी बस्काेटमा जन्मेर लामो समय त्यहीँ स्थानीय स्तरमै आफ्नो परम्परा र लाेकसंस्कृतिकाे उन्नयनमा तल्लीन रहेका झुसेदमाईलाई उनमा रहेको विलक्षण प्रतिभा, अदभूत कलाकारिता र भडा(वीरगाथा)काे अतुलनीय गायकीले मात्रै त्यो ठाउँमा रहेर परिवार पाल्न, गुजारा चलाउन र आफ्नो कलाकाे सम्मान हुने अवस्था नदेखिदा भारतको नजिकैको शहर पिथौरागढकाे मुवानीमा परिवारसहित बसाइ सरे । जीवनका धेरै  वर्ष बस्काेटमै बिताएका उनलेे झन्डै बाकी जीवन भारतमै रहेर ब्यतित गरे । त्यहाँ रहदा उनकाे प्रतिभाले  राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ख्याति मात्रै कमाएन बरु आर्थिक रुपमा समेत तरक्की हासिल गर्‍यो । उनको गायकी भारतको सरकारी राष्ट्रिय टेलिभिजन च्यानल दूरदर्शन, अल इण्डिया रेडियो लगायतका थुप्रै सञ्चारमाध्यममा बहुचर्चित भयाे । सरकारीतवरबाट थुप्रै प्रतियोगिता र प्रस्तुतिमा उनलेे पटकपटक सम्मानित हुने अवसर पनि पाइरहे । भारतको उत्तराखण्ड कुमाउका प्रसिद्ध लाेककवि गिरिश तिवारी’गिर्दा’ ले त झुसे दमाईकाे बारेमा ४ सय पृष्ठको पुस्तक नै तयार पारेका छन् । उनका नाति(छाेरीका छाेरा) अवकाशप्राप्त भारतीय सैनिक नारायण साेराडीका अनुसार अहिले उक्त पुस्तक लखनउस्थित संग्रहालयमा संग्रहित रहेको छ । भारतमा यति प्रसिद्धि र सम्मान पाएका झुसे दमाईजस्ता सांस्कृतिक रत्नलाई उनी जन्मेकाे, उनका पुर्खा जन्मेको ठाउँमा अहिलेसम्म सम्झिने गरिदैन । स्थानीय तह, प्रदेश सरकार र कला, संस्कृति संरक्षणमा लागेका सरकारी निकायले उनको बारेमा गहिरो अध्ययन गर्नु उपयुक्त देखिन्छ । उनको कला र याेगदान नयाँ पुस्ताका लागि समेत अनुकरणीय हुनेगरी उनीबारे अनुसन्धान हुनु जरुरी छ ।
“जो भागी जी रलो सो रितु सुणलो ।
जो पापी बडन्छ काँहै सुणन्छ रीतु ।।”


कुमाउ क्षेत्रमा रहेर भडा, छलिया, हुड्क्यौली गाएपनि उनी नेपालको बैतडी जिल्लामा जन्मेका हुनाले उनको बाेलीमा बैतड्या लवज निस्कने गर्थ्याे । जसले उनको प्रस्तुति झनै कलात्मक बन्दथ्याे । उनको गायकी यति शानदार हुन्थ्यो कि सुन्ने/हेर्नेहरु मन्त्रमुग्ध हुन्थे । उनले गाउने मुखाग्र इतिहास सुनिरहदा ती ऐतिहासिक घटनाक्रमका दृश्य नाचिरहन्थे दिमागमा । त्यतिबेलाका घटनाक्रमहरु क्रमबद्ध रुपमा मौलिक ‘ढप'(लय)मा ढालेर आकर्षक तरिकाले सुनाउनु, प्रस्तुत गर्नु उनकाे विशेषता थियो । उनका भडा सुन्दा उनलेे प्रस्तुत गर्ने शैलीलै नजिकै सुन्ने, हेर्नेहरुमा अलग्गै उर्जा सञ्चार गराउँदथ्याे ।
हाम्रो मानसक्षेत्र या सुदूरपश्चिम र कुमाउकाे मौखिक(हाल आएर लिपिबद्ध पनि भएको छ) परम्परा अन्तर्गत भडा(वीरगाथा गायन) उनले पारिवारिक विरासतका रुपमा प्राप्त गरेका हुन् । समाजमा इतिहास, कला र संस्कृतिलाई लिपिबद्ध रुपमा लिखितम गर्ने परम्परा प्रारम्भ भैनसकेकाे अवस्थामा उनका परिवारका अग्रजहरुकै याेगदानका कारण उनीसम्म आइपुग्दा केवल श्रुतिपरम्परामै सीमित रहेका वीरगाथाहरु लिखित रुपमा समाजले ग्रहण गर्न सकेको हो ।
संग्राम कार्की उनको सबैभन्दा प्रिय भडा थियो । यसलाई उनलेे विशिष्ट शैलीमा गाउथे । यस भडा गाउदाकाे उनको अभिनय र गायकी अदभूत हुन्थ्यो । उनका भतिजा गणेश दमाई भन्छन्,- हुन त काकाले धेरै भडाहरु गाउनुहुन्थ्याे र सबै भडाहरुमा उहाँको विशिष्टता झल्किन्थ्याे तर ती सबैमध्ये पनि संग्राम कार्कीको भडा चाहिँ एकदमै उच्चस्तरीय तरिकाले गाउनुहन्थ्याे । त्यो भडा गाउदा उहाँको भित्रैबाट अदभूत कला निखारिएर आउँथ्यो ।
गायकीका समयमा उनको विशेष मौलिक पहिरन हुन्थ्यो । रंगीबिरंगी झगुलाे(घाघराे जस्तै), कुर्ता, वास्काेट, कम्मरमा फेटा, हुड्काे, हुड्काेमाथिबाट पछाडिपट्टि चौरी गाईको पुच्छर र ४/५ वटा घण्टी झुन्डिएका हुन्थे । उनले भडा गाउनेबेला चौरी गाईको पुच्छर माेहक किसिमले हल्लिन्थ्याे र घण्टी बजेर वीररसकाे झंकार दिन्थे । उनका नाति नारायण दमाईका अनुसार ती घण्टीहरु अहिले पिथौरागढ जिल्लामा रहेको उनको घरमा मन्दिरमा राखिएका छन् ।
बस्काेट नजिकैका स्थानीय गाउँले खिमानन्द भट्ट आफ्नो बाल हृदयमा अझै पनि झुसेकाे गायकी र ऋतुगायन लगायत, साेभा रौत, सगराम कार्कीकाे भडा  स्मृतिमा ताजै रहेको बताउँछन् । झुसेकै भतिजा गणेश दमाईका अनुसार ४ चेला, २ चेलि र दुई घघरिया(श्रीमती)का धनी झुसे कला, संस्कृतिका ‘सौकार’ थिए । 

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...