भडा संस्कृतिका अद्वितीय प्रतिभा : झुसे दमाई 

Published on

हेमबाबु लेखक , महेन्द्रनगर । मानसखण्ड अन्तर्गत बैतडी जिल्लाकाे सदरमुकाम दशरथचन्द नगरपालिका-५, बस्काेटमा जन्मेका झुसे दमाई काली-कर्णाली र कुमाउँ-गढवालकाे ऐतिहासिक वीरगाथा(भडा वा भारत) का अत्यन्तै पारंगत जानकार थिए । वि.सं.१९६६ सालमा जन्मेर पिथौरागढ ढुङाताेली गाउँमा बसाेबास गर्ने झुसे दमाई आफ्नो इष्टदेवी रणशैनीका हरेक पर्वमा बैतडी आइरहन्थे । यो उनको आफ्नो कुलदेवताप्रतिकाे निष्ठा थियो । २०६१ सालमा पनि त्रिपुरा रणशैनी जात्राकाे अर्को दिन मन्दिर नजिकै चौरा भन्ने स्थानीय बजारमा उनलेे देहत्याग गरेका थिए । त्यतिबेला उनी ९५ वर्षका थिए ।


बैतडी सदरमुकाममा अवस्थित प्रसिद्ध जगन्नाथ र रणशैनी(त्रिपुरासुन्दरी) भगवती लगायतका मन्दिरका आधिकारिक द्यौलीया तथा नवधी वादकका रुपमा उनको प्रसिद्धि यहाँका देवीदेउताले खानदानी विरासतकै रुपमा दिएको मान्यता छ ।
अहिले पनि उक्त मन्दिरमा झुसे दमाईका भाइ-बिरादरीका गाेतियारहरुकै नवधीलाई मात्रै आधिकारिक मानिन्छ । पर्वनित्य पूजाका दिन या नवरात्रीमा या जाँत(मेला)मा समेत झुसे दमाईकै भाइबन्धुले द्यौल नबजाउदासम्म त्यहाँका लेखक र भट्ट पुजारीले ‘गब्यूर’भित्र आधिकारिक पूजा लगाउन पाइदैन । भनिन्छ, झुसे दमाईका पारिवारिकजन बस्काेटका उनका बिरादरीमध्येका वादकहरुले द्यौल बजाएपछि मात्रै जगन्नाथ, रणशैनी समेतका सबै देउताले पर्वविशेष पूजा स्विकार गर्दछन् ।


बैतडी सदरमुकाम र साेराड क्षेत्रका मानिसहरूकाे इष्टमित्र, बिरादरी र बिहेवारी वारीपारी(नेपाल-भारत) भैरहने पुरानो परम्परा अद्यापि चलिरहेकै छ । सबै जातजाति र समुदायका मानिसको विवाह परम्परा मात्रै नभएर जग्गाजमिन समेत सदियौदेखि वारीपारी(नेपाल-भारत) मा रहिआएको छ । झुसे दमाईकै विवाह समेत नेपाल र भारत दुवै ठाउँबाट भएको देखिन्छ । उनलेे सरस्वतीदेवी र हजारीदेवी दुई श्रीमती विवाह गरेका थिए । र उनको समेत जग्गाजमिन नेपाल-भारत दुवै ठाउँमा छ । जुन सम्पत्तिमा उनका छाेरानातिहरुकाे स्वामित्व रहेको छ । तर नेपालको बैतडी सदरमुकाम बस्काेटमा रहेको पुर्ख्यौली सम्पत्ति अहिले उनका भाइबन्धुहरुले रेखदेख गर्दैआएका छन् ।
झुसे दमाईकाे सबैभन्दा आकर्षक र विलक्षण प्रतिभा भनेकाे उनको ऋतुगायन(चैत महिनामा घरघरमा गएर सजुदेउ वालाकाे भडा) र  वीरगाथा नै मानिन्छ । जसले गर्दा उनलेे नेपालमा भन्दापनि भारतमा ज्यादा प्रसिद्धि कमाए । भारतको कुमाउ र नेपालको कालीकर्णालीतिर ऐतिहासिक वीरवीराङ्गनाहरुकाे जीवन चरित्रमा आधारित गीतिकथालाई भडा भन्ने गरिन्छ ।

झुसे  दमाई यसमा पारंगत मानिन्छन् । उनको शेषपछिका झन्डै दुई दशकसम्म पनि उनलाई पछ्याउन सक्ने वा उनको बराबरी गर्नसक्ने अर्को कुनै भडा गायक कुमाउ र कालीकर्णाली क्षेत्रमा देखिएका छैनन् ।
बैतडी बस्काेटमा जन्मेर लामो समय त्यहीँ स्थानीय स्तरमै आफ्नो परम्परा र लाेकसंस्कृतिकाे उन्नयनमा तल्लीन रहेका झुसेदमाईलाई उनमा रहेको विलक्षण प्रतिभा, अदभूत कलाकारिता र भडा(वीरगाथा)काे अतुलनीय गायकीले मात्रै त्यो ठाउँमा रहेर परिवार पाल्न, गुजारा चलाउन र आफ्नो कलाकाे सम्मान हुने अवस्था नदेखिदा भारतको नजिकैको शहर पिथौरागढकाे मुवानीमा परिवारसहित बसाइ सरे । जीवनका धेरै  वर्ष बस्काेटमै बिताएका उनलेे झन्डै बाकी जीवन भारतमै रहेर ब्यतित गरे । त्यहाँ रहदा उनकाे प्रतिभाले  राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ख्याति मात्रै कमाएन बरु आर्थिक रुपमा समेत तरक्की हासिल गर्‍यो । उनको गायकी भारतको सरकारी राष्ट्रिय टेलिभिजन च्यानल दूरदर्शन, अल इण्डिया रेडियो लगायतका थुप्रै सञ्चारमाध्यममा बहुचर्चित भयाे । सरकारीतवरबाट थुप्रै प्रतियोगिता र प्रस्तुतिमा उनलेे पटकपटक सम्मानित हुने अवसर पनि पाइरहे । भारतको उत्तराखण्ड कुमाउका प्रसिद्ध लाेककवि गिरिश तिवारी’गिर्दा’ ले त झुसे दमाईकाे बारेमा ४ सय पृष्ठको पुस्तक नै तयार पारेका छन् । उनका नाति(छाेरीका छाेरा) अवकाशप्राप्त भारतीय सैनिक नारायण साेराडीका अनुसार अहिले उक्त पुस्तक लखनउस्थित संग्रहालयमा संग्रहित रहेको छ । भारतमा यति प्रसिद्धि र सम्मान पाएका झुसे दमाईजस्ता सांस्कृतिक रत्नलाई उनी जन्मेकाे, उनका पुर्खा जन्मेको ठाउँमा अहिलेसम्म सम्झिने गरिदैन । स्थानीय तह, प्रदेश सरकार र कला, संस्कृति संरक्षणमा लागेका सरकारी निकायले उनको बारेमा गहिरो अध्ययन गर्नु उपयुक्त देखिन्छ । उनको कला र याेगदान नयाँ पुस्ताका लागि समेत अनुकरणीय हुनेगरी उनीबारे अनुसन्धान हुनु जरुरी छ ।
“जो भागी जी रलो सो रितु सुणलो ।
जो पापी बडन्छ काँहै सुणन्छ रीतु ।।”


कुमाउ क्षेत्रमा रहेर भडा, छलिया, हुड्क्यौली गाएपनि उनी नेपालको बैतडी जिल्लामा जन्मेका हुनाले उनको बाेलीमा बैतड्या लवज निस्कने गर्थ्याे । जसले उनको प्रस्तुति झनै कलात्मक बन्दथ्याे । उनको गायकी यति शानदार हुन्थ्यो कि सुन्ने/हेर्नेहरु मन्त्रमुग्ध हुन्थे । उनले गाउने मुखाग्र इतिहास सुनिरहदा ती ऐतिहासिक घटनाक्रमका दृश्य नाचिरहन्थे दिमागमा । त्यतिबेलाका घटनाक्रमहरु क्रमबद्ध रुपमा मौलिक ‘ढप'(लय)मा ढालेर आकर्षक तरिकाले सुनाउनु, प्रस्तुत गर्नु उनकाे विशेषता थियो । उनका भडा सुन्दा उनलेे प्रस्तुत गर्ने शैलीलै नजिकै सुन्ने, हेर्नेहरुमा अलग्गै उर्जा सञ्चार गराउँदथ्याे ।
हाम्रो मानसक्षेत्र या सुदूरपश्चिम र कुमाउकाे मौखिक(हाल आएर लिपिबद्ध पनि भएको छ) परम्परा अन्तर्गत भडा(वीरगाथा गायन) उनले पारिवारिक विरासतका रुपमा प्राप्त गरेका हुन् । समाजमा इतिहास, कला र संस्कृतिलाई लिपिबद्ध रुपमा लिखितम गर्ने परम्परा प्रारम्भ भैनसकेकाे अवस्थामा उनका परिवारका अग्रजहरुकै याेगदानका कारण उनीसम्म आइपुग्दा केवल श्रुतिपरम्परामै सीमित रहेका वीरगाथाहरु लिखित रुपमा समाजले ग्रहण गर्न सकेको हो ।
संग्राम कार्की उनको सबैभन्दा प्रिय भडा थियो । यसलाई उनलेे विशिष्ट शैलीमा गाउथे । यस भडा गाउदाकाे उनको अभिनय र गायकी अदभूत हुन्थ्यो । उनका भतिजा गणेश दमाई भन्छन्,- हुन त काकाले धेरै भडाहरु गाउनुहुन्थ्याे र सबै भडाहरुमा उहाँको विशिष्टता झल्किन्थ्याे तर ती सबैमध्ये पनि संग्राम कार्कीको भडा चाहिँ एकदमै उच्चस्तरीय तरिकाले गाउनुहन्थ्याे । त्यो भडा गाउदा उहाँको भित्रैबाट अदभूत कला निखारिएर आउँथ्यो ।
गायकीका समयमा उनको विशेष मौलिक पहिरन हुन्थ्यो । रंगीबिरंगी झगुलाे(घाघराे जस्तै), कुर्ता, वास्काेट, कम्मरमा फेटा, हुड्काे, हुड्काेमाथिबाट पछाडिपट्टि चौरी गाईको पुच्छर र ४/५ वटा घण्टी झुन्डिएका हुन्थे । उनले भडा गाउनेबेला चौरी गाईको पुच्छर माेहक किसिमले हल्लिन्थ्याे र घण्टी बजेर वीररसकाे झंकार दिन्थे । उनका नाति नारायण दमाईका अनुसार ती घण्टीहरु अहिले पिथौरागढ जिल्लामा रहेको उनको घरमा मन्दिरमा राखिएका छन् ।
बस्काेट नजिकैका स्थानीय गाउँले खिमानन्द भट्ट आफ्नो बाल हृदयमा अझै पनि झुसेकाे गायकी र ऋतुगायन लगायत, साेभा रौत, सगराम कार्कीकाे भडा  स्मृतिमा ताजै रहेको बताउँछन् । झुसेकै भतिजा गणेश दमाईका अनुसार ४ चेला, २ चेलि र दुई घघरिया(श्रीमती)का धनी झुसे कला, संस्कृतिका ‘सौकार’ थिए । 

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...