पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

Published on

लिस्बन। पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।

राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ ।

राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताए ।

“पछिल्लो समय विभिन्न मुलुक हँुदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहां राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उनले भने, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ।”

विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक–पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उनले राहदानीलाई सुरक्षित रुपमा जतन गरेर राख्न सुझाव दिए ।

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको...