तातोपानी नाकाको कन्तबिजोग

Published on

काठमाडौं । वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ । 

चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् । उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर बसेका छैनन् । सरकारीदेखि निजी आवाससम्म लथालिङ्ग र भताभुङ्ग छन् । बाढीपहिरो र भूकम्पले क्षति पु-याएका सरकारी कार्यालय, बैङ्क, विभिन्न व्यापारिक सङ्घ, संस्था, होटललगायतका संरचना पुनर्निर्माण भएका छैनन् । 

मितेरी पुलस्थित पुरानो भन्सार कार्यालय जीर्ण बनेको छ । भूकम्पले क्षतविक्षत भएका उक्त भवन ढल्नै लागेको छ । पुरानो भन्सार यार्ड खाली छ । भूकम्पपछि बन्द भएको अध्यागमन कार्यालयको ढोका अहिलेसम्म बन्द हँुदै आएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई ड्युटी गर्दा पानी र घामबाट ओत लाग्ने संरचना छैन । भूकम्प र पहिरोले माथिबाट आएको ढुङ्गा, माटो सडक किनारामा छरपस्ट छन् । माथिबाट आएका ठाडा खोला सडकमा बगिरहेका छन् । मितेरी पुलबाट बाह्रबिसेसम्मको २८ किलोमिटर सडक नाजुक छ ।

कोदारी खण्ड, झयाले भिर, घट्टेखोला, डाक्लाङ, सिरिसे, जम्बु, खाग्दल, चाकु र नयाँ पुलबिचको खण्डको अवस्था नाजुक छ । उक्त सडकखण्डमा मालवाहक कन्टेनर आउजाउ गर्न अति कठिन छ । भोटेकोशी नदीले सडक तानिरहेको छ । माथिबाट पहिरोले सडकमा क्षति पु-याइरहेको छ । सडक मर्मतसुधार कमसल र गुणास्तरहीन छ । सडक मर्मतका नाममा ठेकेदार र उपभोक्ता समितिलाई पैसा कमाउने थलो मात्रै बनेको छ । 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रमुख दयानन्द केसीले चीनबाट दैनिक तीन वटादेखि २५ वटा मालवाहक कन्टेनर नाका भित्रिँदै आएको बताउनुभएको छ । कहिले त एउटा कन्टेनर पनि नआउने गरेको छ । अहिले उक्त नाकाबाट युरिया मल, स्याउ, लसुन, कृषि सामग्री, रोल कपडालगायतका सामान आयात भइरहेका छन् तर निर्यात भने अहिलेसम्म नभएको उहाँले दुखेसो गर्नुभयो । चिनियाँ पक्षबाट माग नआएपछि निर्यात हुन नसकेको व्यापारीले जनाएका छन् । सिल्क ट्रान्सपोर्टका दुई वटा गाडी र नमस्ते ट्रान्सपोर्टको एक गाडीले मे १ मा चीनतर्फ मुढा, म्याटे«स, हस्तकलाका सामग्री निर्यात गरेका थिए । त्यसपछि अहिलेसम्म कुनै सामान निर्यात नभएको केसीले बताउनुभयो ।  

आयातमा कमी र निर्यातमा शून्यता जस्तै भएपछि चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुने निश्चित जस्तै भएको भन्सार कार्यालयले जनाएको छ । चालु आवमा चार अर्ब ६२ करोड भन्सार राजस्व सङ्कलन लक्ष्य लिएकामा अहिलेसम्म दुई अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको उक्त कार्यालयले बताएको छ । आयात निर्यातलाई प्रोत्साहन दिन ढुवानी कम्पनीहरूले न्यूनतम भाडादर कम राख्ने जनाएका छन् । सिल्क ट्रान्सपोर्ट, नमस्ते ट्रान्सपोर्ट, ग्लोबल म्याटिक्सलगायतका ढुवानी कम्पनीले सेवा दिने भएका छन् ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले तातोपानी नाका पूर्ण रूपमा बन्द भएको थियो । बाढीपहिरो, कोरोना महामारीका कारण आंशिक रूपमा एकतर्फी खुल्ने र बन्द हुने व्रmम चल्दै आएको थियो । नाकाको अवस्था दयनीय हुँदा नेपाल सरकारले बेवास्ता गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले बताउनुभयो । 

“पुरानै लयमा नाका सञ्चालनका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग कूटनीतिक र परिणाममुखी वार्ता गर्नु पर्छ,” अध्यक्ष बस्नेतले सरकारलाई सुझाव दिनुभयो । सो नाका लामो समय बन्द हुँदा नाका आबद्ध व्यापारी, व्यवसायी केरुङ नाकाबाट कारोबार गर्न पुगे भने कतिपय व्यापारी विदेश पलायन भए । पाँच हजारभन्दा बढी चालक, मजदुरको रोजीरोटी गुमेको थियो । साना तथा मझौला व्यापारी कृषि र अन्य पेसामा आबद्ध हुन पुगेका छन् । नाकाका होटल व्यवसायीको लगानी डुब्यो भने बैङ्क, सहकारीलगायतका वित्तीय संस्था नाकाबाट उठेर हिँड्न बाध्य भए । अहिले केही पनि कार्यालय, व्यवसाय तातोपानी क्षेत्रमा छैनन् । गाेरखापत्र ।

spot_img

ताजा समाचार

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...