राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो।

“राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाएर बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ। यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरुले ग्रहण गर्नुहुनेमा विश्वास छ”, उहाँले भन्नुभयो। विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवम् प्रविधिको तीव्रगतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रिय रुपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको भनाइ थियो। उहाँले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रयासरत रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरेर सर्वोत्कृष्ट शिक्षालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गर्नुभयो। उहाँले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो। ‘‘राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति तथा कुटनीति, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति सेनासम्बन्धी विषय, राष्ट्रिय सुरक्षामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयसम्बन्धी विषय, परम्परागत र आधुनिक, सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा दिँदै आइरहेको यस कलेजलाई भविष्यमा उत्कृष्ट शिक्षालय बनाउन रक्षा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ”, उहाँले भन्नुभयो।

उहाँले तालिमको महत्वलाई राम्रोसँग अङ्गिकार गर्न तालिमरत शिक्षार्थी समक्ष आग्रह गर्नुभयो। “तपाईंहरु भविष्यमा नेपाली सेनाको नेतृत्व तहमा पुग्नुहुनेछ, तसर्थ भविष्यमा तपाईंलाई प्राप्त हुने जुनसुकै जिम्मेवारी बहन गर्ने क्रममा यस तालिमको महत्वलाई राम्रोसँग अङ्गिकार गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, उहाँले भन्नुभयो। उपप्रधानमन्त्री खड्काले अन्य सुरक्षा निकायबाट पनि उत्कृष्ट अधिकृत सहभागी हुने हुँदा आ–आफ्नो सङ्गठनमा उदाहरणीय रुपमा जिम्मेवारी बहन गरी आफूलाई अब्बल प्रमाणित गर्न तालिमरत शिक्षार्थीलाई सुझाव दिनुभयो। वि।सं। २०४७ सालमा शाही नेपाली सैनिक तालिम प्रतिष्ठानका रुपमा स्थापित उक्त संस्थानले आजका दिनसम्म आइपुग्दा नेपाली सेनाको गौरव गर्न लायक संस्थाको रुपमा रहेको उहाँको भनाइ थियो। कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थी समेतको सहभागिताले अन्तर–सांस्कृतिक ज्ञान र अनुभवको आदानप्रदान गर्ने अवसरसमेत उपलब्ध भएको उहाँले बताउनुभयो।

दक्ष एवम् योग्य प्रशिक्षक, छिमेकी एवम् अन्य मित्रराष्ट्रका प्रतिनिधिको सहभागिता, राम्रो हावापानी एवम् कलेजको रमणीय भौगोलिक अवस्थिति, सांस्कृतिक आदानप्रदान तथा अन्तरघुलन, लब्धप्रतिष्ठित विज्ञसँग अन्तरक्रिया गर्ने अवसरले कलेजले छुट्टै पहिचान बनाएको आफूले पाएको उपप्रधानमन्त्री खड्काको कथन छ। “कलेजको गरिमामय इतिहासकै कारण विभिन्न मित्रराष्ट्रबाट आउनुभएका सैनिक अधिकृत यहाँ अध्ययनरत हुनुहुन्छ, यो हामी सबैका लागि गर्वको विषय हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसले कलेजको विशिष्टता थप प्रष्ट पार्छ। संस्थागत रुपमा नेपाली सेना र व्यक्तिगतरुपमा यहाँका शिक्षक वर्गले गरेको निरन्तरको मेहनत र प्रयासको उच्च मूल्याङ्कन गर्न चाहन्छु।” उहाँले कलेजसँग सम्बन्धित चुनौती तथा समस्या समाधान गर्दै आगामी दिनमा कलेजको प्रभावकारी सञ्चालन, व्यवस्थापन एवम् सुरक्षाका लागि व्यावसायिक प्रशिक्षक, आधुनिक एवम् सुविधा सम्पन्न आवास व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै शारीरिक अभ्यास, खेलकुद एवम् मनोरञ्जनात्मक व्यवस्थामा स्तरोन्नति, आवश्यकताअनुसार सिकाइलाई थप प्रभावकारी बनाउन वैदेशिक भ्रमणलगायतको व्यवस्थापनका लागि सरकारका तर्फबाट पहल गर्ने उहाँको भनाइ छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...