मोरक्को भूकम्पपछि सहायता नपाएको पीडितको गुनासो

Published on

काठमाडौं । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छ भने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौँतारिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।

भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब दुई सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छ भने अन्य हराइरहेका छन् । “यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,” बिलौना गर्दै हसन भन्छन् । भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ । परम्परागत घरका इँटा र ढुङ्गा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन ।

“हामी यहाँ राज्यले परित्याग गरेको महसुस गरिहरेका छौँ, हामीलाई मद्दत गर्न कोही आएको छैन । हाम्रा घर भत्किएका छन्, अब हामी कहाँ बस्ने रु” एटलस पहाडको अग्लो क्षेत्रमा रहेका गाउँ मिसिरातका भग्नावशेषमाथि उभिएर रोष व्यक्त गर्दै ४३ वर्षीया खादिजा एट्लकिद प्रश्न गर्छिन् । एक सयभन्दा कमको बसोबास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परेको भएपनि भग्नावशेषमा पुरिएका पशुचौपाया गन्हाएर स्थानीय वायु नै प्रदूषित भएको छ ।

मोरक्कोको पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर गत शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । अल–हौज र ताराउदान्ट प्रान्तका अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफियामा भएको छ । स्पेन, संयुक्त अधिराज्य र कतारले खोज तथा उद्धारमा सघाउन आ–आफ्नो टोली परिचालन गरेका छन् । मोरक्कोका उद्धारकर्मीसँगको समन्वयमा उनीहरूले काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ । सावरी साधन पुग्न नसक्ने अनकन्टार पहाडी गाउँमा हेलिकप्टरबाट खाद्य सामग्री खसालिएको जनाउँदै गृह मन्त्रालयले यथाशक्य चाँडो सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैबीच, युरोपेली सङ्घले मानवीय सहायतास्वरुप एक लाख युरो तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो । रासस/एएफपी

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...