हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।  पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव–२०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।  “हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्य, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं”, पौडेलले भन्नुभयो, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौं ।”  उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गर्नुभयो । 

“हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदीप्त छ छौं” पौडेलले भन्नुभयो, “यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र सङ्घर्ष गर्नुभएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ ।  उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहनेछ ।”

उहाँले अगाडि भन्नुभयो, “यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्य, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होइनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र ती सबैको एकता, समभाव र सहअस्तित्व नै हाम्रो मुख्य परिचय हो ।” राष्ट्रपति पौडेलले हामी सबै भएकैले सप्तरङ्गी र पूर्ण भएको पनि बताउनुभयो । “हामी सबै छौं, त्यसैले सप्तरङ्गी छौं, बगैँचाजस्तो । हामी अनेक रङमा छौं, त्यसैले हाम्रो सभ्यता इन्द्रेणीझैं सुन्दर छ । इन्द्रेणीको एउटा रङ निकाल्ने हो भने जसरी त्यो इन्द्रेणी इन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकताबद्ध सभ्यताबाट एउटा रङ निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ”, राष्ट्रपति पौडलेको भनाइ थियो,  “त्यसैले मलाई लाग्छ, हामी सबै छाैं, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो सभ्यता हो । यही नै हाम्रो भव्यतम संस्कृति हो ।

यो कुरालाई स्वीकार गरेपछि मात्र हामी एक मौलिक, सबल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसात् गरेको छ ।”   यो अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।” राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउँदै भन्नुभयो, “त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।”  उहाँले हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ त्यसलाई हामीले चिन्न नसकेको बताउँंदै भन्नुभयो, “हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाइ र कुन  पाटोमा के उब्जनी हुन्छ रु त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।” 

“हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौं । गाऊँमै रोजगारी र आम्दानी आउँछ । बसाइसराइँ रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ”, उहाँले भन्नुभयो ।  सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको  शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पाँचथर बहुमुखी क्याम्पसको आयोजनामा बुधबारदेखि सुरु भएको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । वाचनप्रवीण दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा सञ्चालन हुने महोत्सवमा किराँत मुन्धुममा डाक्टर चन्द्रकुमार सेर्मा र बौद्व दर्शनमा फुर्तेम्बा सेर्पाले प्रवचन दिनुहुने अयोजक पाँचथर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो । 

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...