पानीविहीन पोखरी, प्यास मेट्न भौँतारिँदै वन्यजन्तु

Published on

काठमाडौं । वन्यजन्तुलाई सहजरुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन अवस्थामा छन् । जसका कारण जनावर पानीका लागि भौँतारिनुपर्ने अवस्था छ ।

वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन् भनेर रौतहटको वन क्षेत्रमा बनाइएका ११ वटै पोखरी पानीविहीन अवस्थामा रहँदा वन्यजन्तु पानीका लागि भौँतारिदै नदीखोला नजिकको बस्तीमा समेत प्रवेश गर्छन् । सिमसार व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्लाको बागमती सामुदायिक वन चन्द्रपुर– १ को वन क्षेत्रमा एउटा, नमुना सामुदायिक वन चन्द्रपुर–२ को वन क्षेत्रमा दुई वटा, खोरकटी सामुदायिक वन क्षेत्रमा एउटा पोखरी निर्माण गरेको थियो । यसैगरी, धन्सार चक्ला वन क्षेत्रमा एउटा, रङ्गपुर साझेदारी वन क्षेत्रमा चार वटा, जङ्गलसहिया साझेदारी वन क्षेत्रमा दुई वटा गरी ११ वटा पोखरी खनेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी विमल ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा छ वटा र २०७७र०७८ मा पाँच वटा गरी ११ वटा पोखरी निर्माण गरेको थियो । अहिले कुनै पनि पोखरीमा पानी छैन ।

पानीको स्रोत नै नभएको ठाउँमा पोखरी निर्माण गरिएकोले पोखरी पानीविहीन भएको सरोकारवाला बताउँछन् । पोखरीमा घाँस र बुट्यान सप्रिएको देखिन्छ । पोखरी पुरिएर समतल अवस्थामा पुगेको छ । बढ्दो गर्मीसँगै प्यास बढ्न थालेको अहिलेको अवस्थामा जङ्गलका ती पोखरीमा पानी नभएपछि वन्यजन्तु गाउँ पस्न थालेको चन्द्रपुर–२ जुडिबेलाका किसान अशोक राईको भनाइ छ । डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार वन्यजन्तु प्यास मेटाउन नदी खोला नजिक रहेको बस्तीमा प्रवेश गर्न थालेका छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ को पौराई र ब्रह्मस्थान क्षेत्र, २ को जुडिबेला, पौराई र फूलबारी, ३ को गैँडाटार र भोलनटार, वडा नम्बर ४ को जङ्गलटोल, ५ को राजपैडा, ६ को डाबरीटोललगायतका गाउँमा हरिण, बँदेल, नीलगाई, हात्ती, बाँदरलगायतका वन्यजन्तु प्रवेश गर्न थालेका छन् । जनावरबाट मानवीय क्षति नभए पनि अन्नबाली, तरकारी बाली र दलहन बालीमा क्षति पुगेको गैँडाटारका युवा समाजसेवी सन्तोष चौहानले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्रले भन्नुभयो, “रौतहटको वनमा विभिन्न प्रकारका वन्यजन्तु त छँदैछन् तर जिल्लाको पश्चिमतर्फ बारा जिल्लाको वनक्षेत्रसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जबाट समेत यस जिल्लामा वन्यजन्तु विचरण गर्ने गर्छन् । गर्मीको मौसम छिप्पिँदै गर्दा वन्यजन्तु पानीका लागि वनमा भौँतारिन्छन् । पानी कतै नपाएपछि नदी खोला खोज्दै बस्ती नजिक पुग्छन् र जनधनको क्षति हुन जान्छ ।” पोखरी मर्मत तथा पानी व्यवस्थापन गर्न कुनै किसिमको बजेट नआएको कारण पोखरी अलपत्र अवस्थामा छ । पोखरी व्यवस्थापन गर्न विशेष पहल गर्ने उहाँको प्रतिबद्धता छ । विगत तीन वर्ष यता वन्यजन्तुको आक्रमणबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने धेरै बिघा जमिनको बालीमा क्षति पुर्‍याएको छ ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...