जाजरकोट भूकम्प : कार्यविधि नबन्दा पुनः निर्माणमा ढिलाइ

Published on

काठमाडौं । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले माग गरेका हुन् ।

जिल्लामा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको तर पुनः निर्माणसम्बन्धी कार्यविधि नआउँदा स्थायी संरचना निर्माण गर्न ढिलाइ भएको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताउनुभयो । कतिपय अस्थायी आवास, मापदण्ड विपरीत बनेकाले त्यसमा विपत व्यवस्थापन समितिले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । “बर्खायामको समय नजिकै आएकाले सरकारले तत्काल पुनःनिर्माणसम्बन्धी कार्यविधि नल्याए पीडित क्षेत्रका नागरिकले थप सास्ती भोग्नुपर्ने देखिन्छ । सङ्घीय सरकारले यसतर्फ पनि ध्यान दिएर तत्काल पुनः निर्माणसम्बन्धी कार्यविधि ल्याउनुपर्छ”, नगरप्रमुख केसीले भन्नुभयो । सरकारले दिएको अनुदान पाउने आशमा घर बनाए पनि भोलि सरकारले बनाएको कार्यविधि र पीडितले बनाएको घरको मापण्ड नमिलेमा फेरि जनता र सरकारबिच अविश्वास पैदा हुने भएकाले तत्काल पुनः निर्माणका लागि कार्यविधि आवश्यकता रहेको उहाँको भनाइ थियो ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले पनि अस्थायी निर्माणको काम करिब सकिएकाले सङ्घीय सरकारले जतिसक्यो छिट्टो भूकम्पपीडितको स्थायी संरचना निर्माणमा ध्यान दिन पुनःनिर्माणको कार्यविधि तत्काल आवश्यक रहेको बताउनुभयो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले सुरु सुरुमा अस्थायी आवास निर्माणको समस्या रहेकामा अब भने पुनःनिर्माणको आवश्यकता रहेको उल्लेख गर्नुभयो । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक बाँठालगायत अन्य सरोकारवालाहरूले भूकम्पपीडितलाई वर्षायाम सुरु नहुँदै स्थायी संरचनामा बसाल्न स्थानीय, प्रदेश र सङ्घीय सकारले समयै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए । विपत व्यवस्थापन बैठकमा अन्य सहभागी राजनीतिक दल, सङ्घसंस्थाहरुले पनि पीडित नागरिकका लागि स्थायी संरचना आवश्यक रहेकाले पुनः निर्माणसम्बन्धी कार्यविधि पारित गरेर तत्काल पुनः निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

दोस्रो किस्ता प्राप्त गर्न मापदण्ड पालन गर्नुपर्ने

अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता दिए जसरी सजिलै दोस्रो किस्ता दिन नसकिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो किस्ता प्राप्त गर्न अस्थायी आवास मापदण्डअनुसार बनाउनुपर्ने, जग्गाको तिरो तिर्नुपर्ने र वडा, तथा पालिकाबाट स्वीकृत भई अस्थायी आवासको मापदण्डअनुसार डाटा बेसमा प्रमाणित गरेपछि मात्र लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्ने छन् । एकै परिवारका सदस्यले एकभन्दा बढी अस्थायी आवासका लागि पहिलो किस्ता प्राप्त गरेको पाएमा त्यस्ता लाभग्राहीलाई वडाबाट हुने सिफारिस, सामाजिक सुरक्षा भत्तालगायत सेवा सुविधा रोक्का हुने कार्यविधि रहेकाले दोस्रो किस्ताका लागि कडाईका साथ मापदण्ड पालना गर्नुपर्ने प्रजिअ पन्तले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...