विद्युतीय शवदाह गृहमा ताला

Published on

काठमाडौं । राजधानी बाहिर पहिलो पटक पोखरामा बनेको विद्युतीय शवदाह गृहमा अहिले ताला लागेको छ । गत भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो ।

सहरी विकास मन्त्रालयबाट पोखरा–१०, रामघाटमा बनाएको शवदाह गृहको परीक्षण भइसकेको छ । १४ करोड १३ लाख ५० हजार तीन सय ६७ रपियाँ लागतमा बनेको आधुनिक शवदाह गृह १० रोपनीमा फैलिएको छ । २०७३ सालमा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीका कारण कामअघि बढ्न सकेको थिएन । दुई वर्ष कानुनी झमेला र स्थानीयको अवरोधले रोकिएको शवदाह गृह बनिसकेपछि पनि हस्तान्तरण नहुँदा अहिले पात, पतिङ्गरले कुरुप बनेको छ । निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिले गएको भदौ १८ गते निर्माण सकिएकाले अन्तिम बिल भुक्तानी गर्न र शवदाह गृह हस्तान्तरणका लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइलाई पत्राचार गरेको थियो । एकाइले भने अझैसम्म पोखरा महानगरलाई हस्तान्तरणका लागि पत्राचार गरिसकेको छैन ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले काम सकिएको छ महिनासम्म हस्तान्तरण नहुँदा ठुलो नोक्सानी र झन्झट सहनुपरेको सुनाउनुभयो । “म हस्तान्तरणका लागि पोखरा महानगर १५÷१६ पटक धाएँ, यत्रो गौरवको आयोजना बनिसकेर पनि सञ्चालनमा नआउनु दुःखद हो,” खनाल भन्नुहुन्छ । निर्माण कम्पनीले डेढ करोड भुक्तानी पाउन बाँकी छ । शवदाह गृह बनेको जग्गा पोखरा महानगरको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइले अब शवदाह गृह महानगरलाई हस्तान्तरण हुने जनाएको छ । एकाइका इन्जिनियर वीरबल सुनार शवदाह गृह बनेर परीक्षणसमेत सफल भइसकेको जानकारी दिनुभयो । एकाइले पोखरा महानगरलाई स्वामित्व लिइदिन पत्रचार गरेको छैन ।

महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले हस्तान्तरण प्रक्रिया सुरु भएको उल्लेख गर्नुभयो । “नजिकै रहेको बौद्ध अर्घौं सदनले पनि चलाउने इच्छा देखाएको छ, हस्तान्तरण भएपछि कसरी चलाउने भन्ने निर्णय गर्छौं,” उहाँले भन्नुभयो । यो शवदाह गृहमा शव दहन गर्ने तीन मेसिन राख्ने ठाउँ भए पनि अहिले दुई मेसिन राखिएका छन् । ४५ मिनेटदेखि बढीमा एक घण्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्छ । शवदाह गृहभित्र श्रद्धाञ्जली दिने स्थानसमेत छ । फराकिलो भवनको परिसरभित्रै हिन्दू धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा निर्माण गरिएको छ ।

पोखराका रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डे ठूलो रकम खर्चेर बनाइएको आधुनिक शवदाह गृह चलाउन र हस्तान्तरणमा छ महिनासम्म ढिलाइ हुनु क्षम्य नभएको बताउनुहुन्छ । करोडौं खर्चेर बनेको आधुनिक शवदाह गृह सरकारी निकायबिचमै समन्वय नहुँदा छ महिना बन्द रहेको उहाँ भन्नुहुन्छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...