खानेपानीको धारा घरमै पुगेपछि स्थानीय खुसी

Published on

काठमाडौं । सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, गुइडुङ्ग गाउँमा खानेपानी पुगेपछि स्थानीय दङ्ग परेका छन् ।

गाउँमा बस्ती बस्दादेखि खोला तथा कुवाको दुषित पानी पिउँदै आएका गुइडुङ्गवासी अहिले भने घरघरमै खानेपानीको धारा झरेपछि खुसीले दङ्ग परेका हुन् । जापान सरकार (यूएनडिपी)को आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत भौगोलिक हिसाबले अत्यन्त विकट रहेको गुइडुङ्ग गाउँमा खानेपानी पुर्‍याइएको हो। गुइडुङ्ग गाउँकी राम्रीमाया थिङले घरमै खानेपानीको धारा झर्दा खुसीको सीमा नरहेको बताउनुभयो । “फूलजोर खोलाबाट कुवाको धमिलो पानी ल्याएर खानुपथ्र्यो अहिले त आँगनमा नै पानीको धारा झरेको छ,” थिङले भन्नुभयो, “अब बाटो र गाडी आइदिए हामी अझ धेरै खुसी हुन्थ्यौँ ।” थिङका अनुसार गुइडुङ्गका स्थानीयले यसअघि चुरेडाँडामा रहेको बस्तीदेखि तल रहेको फूलजोर खोला नजिक र बस्तीमा रहेको कुवा तथा खोलाखोल्सीको दुषित पानी पिउँदै आएका थिए । हिउँदका केही महिना कुवा समेत सुक्दा स्थानीयमा खानेपानीको ठुलो समस्या पथ्र्यो ।

बस्तीकी बिमला योञ्जनले अब खोलाको पानी पिउनुपर्ने बाध्यता हट्दा अत्यन्त खुसी लागेको बताउनुभयो । “कुवामा पानी कम हुँदा दुई(तीन घण्टा लगाएर खोलाको तातो र फोहोर पानी ल्याएर खान्थ्यौँ, चैत, बैशाखतिर त्यही खोला पनि सुक्दा पानीको खोजीमा टाढाटाढासम्म भौतारिनु पथ्र्यो,” योञ्जनले भन्नुभयो, “अहिले घरमै धारा आयो, पहिले जस्तो पानीको पिरलो गर्नुपरेको छैन ।” यस बस्तीका महिलासँग साना बालबालिका बोकेर दुई(तीनघण्टा धाएर खोला तथा कुवाको पानी ल्याएर खाएको अनुभव छ । कुवामा पानी कम हुँदा पालो लगाएर समेत पानी पिएको स्थानीयवासी एवं खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर थिङले बताउनुभयो । गाउँमा खानेपानी आएपछि स्थानीयको दैनिकी निकै सहज बनेको गाउँका अगुवा थिङले बताउनुभयो । “पालो लगाएर एक घरलाई दुई गाग्रो पानी बाँडेर खान्थ्यौँ, बस्तुभाउले पनि त्यही कुवामा गएर पानी खान्थे,” थिङले भन्नुभयो, “अब त्यस्तो दिन रहेन, एक घर एक धारा झार्न सफल भएका छौँ ।” उहाँले अब पिउन तथा सरसफाई गर्न पानीको सुविधा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । थिङले अहिले बस्तीसम्म आउन कच्ची ट्रयाक सडक मात्रै रहेकाले गाडी चल्ने ठाउँ घारिबथानसम्म आउजाउ गर्न समस्या भइरहेको हुँदा गाडी चल्ने सडक निर्माण भइदिए गुइडुङ्गवासीको दैनिकी सहज हुने आश व्यक्त गर्नुभयो ।

ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्रीले बस्तीमा खानेपानी आएपछि स्थानीयलाई ठूलो सुविधा पुगेको बताउनुभयो । “यहाँ हिउँदयाममा कुवा, खोला सबै सुक्दा खानेपानीको हाहाकार मच्चिन्थ्यो, अहिले दातृ निकायको सहयोगमा खानेपानी आउँदा स्थानीयलाई ठुलो राहत मिलेको छ,” वडाध्यक्ष खत्रीले भन्नुभयो । ग्रामीण जिविकोपार्जनका लागि नविकरणीण उर्जा कार्यक्रमका फिल्ड को–अर्डिनेटर अमजद अलीले पहिलो पटक बस्तीमा आउँदा खानेपानीको दयनिय अवस्था देखेको बताउनुभयो । “सुरुमा हामी यहाँ आउँदा मधेश प्रदेशमा पनि यस्तो दुर्गम बस्ती रहेछ भनेर अनौठो लाग्यो, त्यतिबेला गाउँलेहरु र गाइबस्तुले खोला र सानो कुवाको दुषित पानी खाएर जीवन निर्वाह गरिरहेको पायौँ,” उहाँले भन्नुभयो, “यो दुःखद् अवस्था देखेपछि यूनडिपीमा पहल गरेर छोटो अवधीमा गाउँलेलाई खानेपानी खुवाउन सफल भएका छौँ ।”

जापान सरकार (यूएनडिपी) ले गुइडुङ्गमा खानेपानी पु¥याउन एक करोड ९८ लाख रुपियाँ खर्च गरेको छ । बाँके खोलामा इन्टेक (मुहान) निर्माण गरी २४० मिटर लिफ्ट गरेर माथि डाँडामा खानेपानी पु¥याइएको छ । गुइडुङ्ग बस्ती नजिकै देवी डाँडामा २० हजार लिटर क्षमताको दुईवटा हिलटेक ट्याङकी निर्माण गरी बस्तीमा खानेपानी वितरण गरिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र अन्तर्गत देविडाँडा खानेपानी आयोजनाका साइड इन्जिनियर राजु मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पानीको सुविधा भएपश्चात घरधुरी थपिने अनुमान गरी ६५ घरधुरीलाई पुग्ने गरी खानेपानी आयोजना निर्माण गरिएको छ । तत्काल भने बस्तीमा ४० घरधुरी रहेका र सबै घरमा पानीको धारा पु¥याइएको साइड इन्जिनियर मण्डलले बताउनुभयो । खानेपानीको इन्टेक रहेको ठाउँमा २० किलोवाट क्षमताको सोलार जडान गरिएको छ ।

सोलारकै माध्यमले १७ किलोवाट क्षमताको मोटरपप्पमार्फत पानी तानेर गुइडुङसम्म खानेपानी ल्याइएको हो । यूएनडिपीले यसै आयोजना अन्तर्गत स्थानीयलाई बेमौसमी तरकारी खेतीका लागि २४ लाख रुपियाँ लागतमा पोली हाउस (टनेलघर)समेत निर्माण गरिदिएको छ । आयोजनाले गुइडुङ्गवासीलाई १७ किलोवाट क्षमताको थप एउटा जगेडा मोटर पनि प्रदान गरेको छ । जापान सरकार (यूएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत केही महिना अघिदेखि जिल्लाको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१५, तिनघरेमा पनि खानेपानी वितरण भइरहेको छ ।

गुइडुङ्ग गाउँमा पुगेको खानेपानी आयोजनाको शनिबार दिउँसो नगरप्रमुख मनोजकुमार आचार्य, निवर्तमान नगरप्रमुख मनोजकुमार दवकोटा, वडाध्यक्ष देविबहादुर खत्री, दातृ तथा सहयोगी संस्थाका प्रतिनिधिलगायत भएर उद्घाटन गर्नुभएको छ । अतिथिहरु ईश्वरपुर १२ कै चुरेपाखा मुनीको घारिबथानदेखि करिव डेढ घण्टा चुरे पहाड चढेर गुइडुङ गाउँमा पुगी खानेपानी आयोजनाको उद्घाटन गरेर फर्किएका हुन् ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...