काठमाडौं । झापाको कमल गाँउपालिकामा स्वाइन फिभरको प्रकोपका कारण बङ्गुर पालन घट्दै गएको छ । केही समयअघिसम्म सबैभन्दा आकर्षण बनेको बङ्गुर पालन व्यवसाय विभिन्न रोगको प्रकोपले अहिले घट्दो अवस्थामा रहेको जनाईएको छ ।
कमल गाँउपालिकाका साथै झापा जिल्लाभर नै बङ्गुर पालनबाट किसानहरु विस्थापित बन्दै गएका छन् । कमल गाउँपालिकाका पशु शाखाका प्रमुख दिपेन्द्र लामिछानेका अनुसार पछिल्लो समयमा विभिन्न रोगहरुका कारण किसानहरुले बङ्गुर पालन छाड्दै गएकाले खोरहरु रित्तिएका छन् । अफ्रिकन र एशियन गरी दुई प्रकारका भाइरसको संक्रमण देखिएको छ । जसमध्ये अफ्रिकन खतरनाक छ । पालिकामा २२ हजार बयस्क बङ्गुर रहेकोमा अहिले यो घटेर आधा भएको अनुमान गरिएको उहाँले जनाउनुभयो । कमलमा मात्र एक सय २७ वटा व्यवसायिक वंगुर फार्महरु दर्ता भएका छन् । यसैगरी भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा। रोशन दहालका अनुसार बङ्गुरमा देखिने रोगकाल कारणले गर्दा बङ्गुर पालन क्षेत्रमा ठुलो समस्या परेको बताउनुभयो । पछिल्लो समयमा भाइरसको संक्रमण झन् बढ्दो अवस्थामा रहेको उहाँले बताउनुभयो ।
आफैं पनि यो भाइरस हराउन सक्ने भएकाले अहिले भाइरसको समस्याको विषयमा जाँच गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो । पुराना खोरहरुमा नयाँ बङ्गुर ल्याएर राख्दा पनि भाइरस सर्ने जोखिम धेरै रहेको उहाँले बताउनुभएको छ । एकपटक रोग देखा परेको बङ्गुर फार्ममा लामो समयसम्म भाइरस रहेको हुनसक्ने पशु चिकित्सक दाहालले बताउनुभयो ।