हडिया देवधार जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण

Published on

काठमाडौं । उदयपुरको चौदणिडगढी नगरपालिका १० स्थित हडिया देवधारस्थित मदनभन्डारी राजमार्गमा जोड्नेगरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम धमाधम हुँदैछ । नेपाल सरकार सडक विभागको पुल महाशाखाले डिजाइन एण्ड ब्रिज मोडेल अन्तर्गत मदनभण्डारी राजमार्गको गाईघाट बेल्टार खण्डको देवधारमा हडिया क्षेत्रलाई जोड्ने गरी सो पुल निर्माण सुरु गरेको हो ।

विभागको पछिल्लो नीति अनुसार निर्माण व्यवसायीले नै माटो परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत ईष्टमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसिमा भित्र पुल निर्माण गरिसक्ने गरी डिजाइन स्वीकृत भएकोले हडिया देवधार जोड्ने त्रियुगा पुलको निर्माण सुरु गरिएको हो । विभागको पुल सेक्टर धरानका इन्जिनियर सर्मिला वेसाराका अनुसार सूर्य एण्ड सन्स प्रालि निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार आठसय रुपियाँको लागतमा दुवै तर्फको गरी छ सय ५० मिटर लामो एप्रोच सडकसहितको तीसय २० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको दुईलेनको पाएलस फाउण्डेशन डिजाइनमा उक्त मोटेरेवल पक्की पुन निर्माण गर्न सुरु गरेको हो ।

निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरीसक्ने गरी २०७९ साल मङ्सिर २१ गते ठेक्का सम्झौता गरेको हो । सम्झौतापछि स्वायल टेष्ट अर्थात् माटो परीक्षणको काम सम्पन्न गरी पुलको विस्तृत डिजाइन तयार पारेर नेपाल सरकारको पुल महाशाखामा बुझाएको र त्यसपछि आयोजनाबाट डिजाइन पास भएपछि मात्रै निर्माण सम्बन्धी अरू कामले गति लिएको कम्पनीका निर्देशक उमेश श्रेष्ठले बताउनुभयो । तर सरकारले क्रमागत रूपमा कम्तीमा पनि प्रतिवर्ष १४ करोड रुपियाँ उक्त पुल निर्माणका लागि विनियोजन गर्नु पर्नेमा एकदम न्यून रकम विनियोजन गरेकोले निर्माणको काम बिचैमा अलपत्र हुनसक्ने स्थिति रहेको पुल सेक्टर धरानका योजना प्रमुख दरोगाप्रसादले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०।०८१ का लागि सरकारले एक करोड ४१ लाख रुपियाँ मात्र यो पुल निर्माणको लागि राखेकोले अव काम अगाडि बढाउन आर्थिक रूपले असहज भएको छ । तर विभागले थप रकम उपलब्ध गराउने आश्वासन दिए अनुसार बजेट अभाव नहुने हो भने चालु आवको असार मसान्त सम्ममा फाउण्डेशनको काम सम्पन्न गर्नेगरी अहिले युध्दस्तरमा निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री डा।नारायण खड्काको सक्रियतामा तयार पारिएको सो योजनाका सम्बन्धमा स्थानीय तहमा काम हुने कि नहुने वा चुनावी नारामा मात्रै सीमित हुने हो कि भन्ने व्यापक दुबिधा हुँदै आएकोमा अब भने त्यस्तो दुबिधा नरहेको स्थानीय बासिन्दा एवम् चोदणिडगढी नगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...