सम्पदा संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्ने

Published on

काठमाडौं । ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सरकारी निकायको बेवास्ताले ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदामाथि अतिक्रमण भइरहेकाले त्यस्ता सम्पदाको संरक्षण गर्न सरकारी निकाय सक्रिय हुनुपर्ने सहभागीहरूले बताएका हुन् ।

तानसेन नगरपालिकाद्वारा बुधबार तानसेनमा आयोजित अन्तरक्रियामा सहभागीहरूले सरकारी निकायबाट सम्पदाको संरक्षण वृहत् योजना आवश्यक रहेको औँल्याएका छन् । पाल्पामा सेनकालीन, राणाकालीन तथा मगर समुदायको ऐतिहासिक संरचना र सम्पदा भएपनि त्यसलाई संरक्षण गर्न ठोस योजना बन्न नसकेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । जिल्लाको रानीमहल, भैरवस्थान, पाल्पा दरबार तथा नारायणस्थानमा रहेका सम्पदामाथि विभिन्न तवरबाट अतिक्रमण भइरहेको उहाँले बताउनुभयो । पाल्पा दरबार परिसरमा प्रशासन, प्रहरी, अनुसन्धान तथा सेनाले जथाभाबी भवन निर्माण गरेको सहभागीले बताएका छन् । पाल्पा दरबार क्षेत्रलाई ऐतिहासिक एवम् पर्यटकीय स्थलको रूपमा विकास गरेर जानुपर्नेमा केही सरकारी निकायबाटै सम्पदामाथि अतिक्रमण भएको नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । सरकारी कार्यालयले नै अटेर गरेर ऐतिहासिक सम्पदाभित्र संरचना बनाउने, जथाभाबी संरचना भत्काउने कार्य गर्नु दुखद् भएको उहाँको भनाइ छ ।

पुरातत्त्व विभागले भने पाल्पाका ऐतिहासिक सम्पदा जोगाएर नगरपालिकाले विभिन्न फाइदा लिन सक्ने जनाएको छ । ऐतिहासिक रूपमा रहेका व्यक्तिगत र सार्वजनिक सम्पदा जोगाउनका लागि स्थानीय बासिन्दा र नगरपालिकाको महत्त्वपूर्ण भूमिका हुने विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनुभयो । विभागले वर्गीकरण गरेर महत्त्वपूर्ण सम्पदा जोगाउनका लागि काम गरिरहेको र केही संरचना बजेटका कारण संरक्षणमा एकै पटक काम गर्न नसकेको प्रधानाङ्गले बताउनुभयो । पाल्पा दरबार परिसरको १७ वर्षअघि नै गुरुयोजना बनेपनि त्यसलाई बाहिर सार्वजनिक नगर्दा दरबार क्षेत्र अतिक्रमणमा परेको बताइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पा दरबार परिसरको विकास एवम् संरक्षणका बारेमा पहिल्यै गुरुयोजना बनेपछि आफूलाई हालै मात्र जानकारी प्राप्त भएको बताउनुभयो । अन्तरक्रियामा विभागका वरिष्ठ अधिकृत रामबहादुर कुवरले तानसेन ऐतिहासिक सहरको रूपमा स्थापित गर्न नगर सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको कमजोर आर्थिक अवस्थाका कारण कतिपय स्थानमा चाहेर पनि सम्पदा संरक्षणका लागि काम गर्न नसकेको बताउनुभयो।

ताजा समाचार

कञ्चनपुरको थारू बस्तीमा माघी पर्व को चहलपहल सुरु

काठमाडाैँ । थारू बस्तीमा यतिबेला माघीको चहलपहल सुरु भएको छ । पश्चिम तराईका...

जलवायु परिवर्तनले प्राकृतिक प्रकाेप पेचिलो बन्दै : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरुलाई अझ पेचिलो बनाउँदै गएको बताउनुभएको...

जनचेतनाको कमीले अधिकारबाट वञ्चित

काठमाडौँ । जनचेतनाको अभावमा मधेशका मुसहर समुदायका नागरिक सरकारी सेवा र नागरिक अधिकारबाट वञ्चित...

ट्रान्सफर्मर चोरी घटना वृद्धि

काठमाडौँ । कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले...