सम्पदा संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्ने

Published on

काठमाडौं । ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सरकारी निकायको बेवास्ताले ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदामाथि अतिक्रमण भइरहेकाले त्यस्ता सम्पदाको संरक्षण गर्न सरकारी निकाय सक्रिय हुनुपर्ने सहभागीहरूले बताएका हुन् ।

तानसेन नगरपालिकाद्वारा बुधबार तानसेनमा आयोजित अन्तरक्रियामा सहभागीहरूले सरकारी निकायबाट सम्पदाको संरक्षण वृहत् योजना आवश्यक रहेको औँल्याएका छन् । पाल्पामा सेनकालीन, राणाकालीन तथा मगर समुदायको ऐतिहासिक संरचना र सम्पदा भएपनि त्यसलाई संरक्षण गर्न ठोस योजना बन्न नसकेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । जिल्लाको रानीमहल, भैरवस्थान, पाल्पा दरबार तथा नारायणस्थानमा रहेका सम्पदामाथि विभिन्न तवरबाट अतिक्रमण भइरहेको उहाँले बताउनुभयो । पाल्पा दरबार परिसरमा प्रशासन, प्रहरी, अनुसन्धान तथा सेनाले जथाभाबी भवन निर्माण गरेको सहभागीले बताएका छन् । पाल्पा दरबार क्षेत्रलाई ऐतिहासिक एवम् पर्यटकीय स्थलको रूपमा विकास गरेर जानुपर्नेमा केही सरकारी निकायबाटै सम्पदामाथि अतिक्रमण भएको नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । सरकारी कार्यालयले नै अटेर गरेर ऐतिहासिक सम्पदाभित्र संरचना बनाउने, जथाभाबी संरचना भत्काउने कार्य गर्नु दुखद् भएको उहाँको भनाइ छ ।

पुरातत्त्व विभागले भने पाल्पाका ऐतिहासिक सम्पदा जोगाएर नगरपालिकाले विभिन्न फाइदा लिन सक्ने जनाएको छ । ऐतिहासिक रूपमा रहेका व्यक्तिगत र सार्वजनिक सम्पदा जोगाउनका लागि स्थानीय बासिन्दा र नगरपालिकाको महत्त्वपूर्ण भूमिका हुने विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनुभयो । विभागले वर्गीकरण गरेर महत्त्वपूर्ण सम्पदा जोगाउनका लागि काम गरिरहेको र केही संरचना बजेटका कारण संरक्षणमा एकै पटक काम गर्न नसकेको प्रधानाङ्गले बताउनुभयो । पाल्पा दरबार परिसरको १७ वर्षअघि नै गुरुयोजना बनेपनि त्यसलाई बाहिर सार्वजनिक नगर्दा दरबार क्षेत्र अतिक्रमणमा परेको बताइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पा दरबार परिसरको विकास एवम् संरक्षणका बारेमा पहिल्यै गुरुयोजना बनेपछि आफूलाई हालै मात्र जानकारी प्राप्त भएको बताउनुभयो । अन्तरक्रियामा विभागका वरिष्ठ अधिकृत रामबहादुर कुवरले तानसेन ऐतिहासिक सहरको रूपमा स्थापित गर्न नगर सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको कमजोर आर्थिक अवस्थाका कारण कतिपय स्थानमा चाहेर पनि सम्पदा संरक्षणका लागि काम गर्न नसकेको बताउनुभयो।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...