नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव

Published on

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिनुभएको छ ।

बिहीबार बसेको सभाको बैठकमा नवनिर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै सांसद देवेन्द्र दाहालले प्रतिपक्ष र सत्तापक्ष नभनी सभाको गरिमा उच्च राख्नुपर्ने विषयप्रति सचेत रहन आग्रह दिनुभयो । राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया बन्न नहुने उहाँको धारणा थियो । “गठबन्धनहरू फेरिरहन्छन् । तर यो स्थिर र स्थायी सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ । कहिलेकाहीँ हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद गोपीबहादुर सार्की अछामीले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सभाले स्थापित गरेका मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सभा समयमै चल्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । सांसद अछामीले सभाका सबै सदस्यले साझा सहमतिको संस्कार विकास गरेको धारणा राख्नुभयो ।

सांसद कमलादेवी पन्तले पनि राष्ट्रिय सभाको गरिमा कायम राख्न सांसदहरूलाई सुझाव दिनुभयो । उहाँले संविधानको पूर्ण कार्यान्वयनको सन्दर्भमा आवश्यक कानुन निर्माण नभएकोप्रति पनि ध्यानाकर्षण गराउनुभयो । विधायिकालाई विश्राम गर्ने छुट नभएको उहाँको भनाइ थियो । “स्थायी व्यवस्थापकीय अङ्गका रूपमा स्थापित सभाले निर्वाह गर्ने भूमिका कायम राख्ने गरिमा र ओजलाई गहिरो नजरमा हेरिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि हामी जनताको विशेष निगरानीभित्र छौँ ।” सांसद बेदुराम भुसालले पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकको प्रगतिको दिशामा अघि बढाउनु शुभकामना दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । “सत्ता समीकरण बदलिएको छ । पटक–पटक समीकरण परिवर्तन हुँदा मुलुकले अस्थिरता भोग्नु परेको गुनासो छ”, उहाँले भन्नुभयो, “पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकमा देखिएका चुनौतीको सामना गर्दै अघि बढ्नका लागि म शुभकामना दिन चाहन्छु ।”

सांसद मोहमद खालिदले राष्ट्रिय सभा सदस्यको भूमिका स्मरण गराउँदै जनसरोकारका विषयमा एकजुट र साझा मत कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “हामी संविधानका रक्षक पनि हौँ र मुलुक र जनताको हितका लागि कानुन निर्माणसँगै सरकारको निगरानीका लागि यहाँ छौँ”, उहाँले भन्नुभयो, “पिछडिएका समुदाय र वर्गका लागि यस सदनमार्फत आवाज उठाउने प्रतिबद्धताका लागि आग्रह गर्दछु ।” सांसद तुलप्रसाद विश्वकर्माले परिवर्तित सत्तासमीकरणप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद शेखरकुमार सिंहले जनताको विश्वासलाई कायम राख्न सुझाव दिनुभयो । बैठकमा नवनिर्वाचित सदस्य आनन्दप्रसाद ढुङ्गानाले सभामा आफ्नो पहिलो अनुभव सुनाउँदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नवचिर्वाचित सदस्यहरू किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, पदमबहादुर परियार र पूजा चौधरीलगायतले सभाको गरिमा कायम राख्ने प्रतिबद्धता जनाउनुभयो । रासस

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...