मौवाफाँट–पिप्लेमा खानेपानीको हाहाकार

Published on

काठमाडौं । रघुगङ्गा गाउँपालिका–२ का बासिन्दा पछिल्लो चार वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन् । एक हजार छ घरघुरी रहेको वडा नम्बर २ को मौवाफाँट तथा पिप्ले क्षेत्रमा तीन हजार पाँच सय मतदाता र पाँच हजार जनसङ्ख्या रहेको छ ।

उक्त जनसङ्ख्याले प्रयोग गर्ने पानीको मुहान सुक्दै जाँदा स्थानीयले खानेपानीको वैकल्पिक स्रोतको खोजी गर्न थालेका छन् । सरकारी स्वामित्वको रघुगङ्गा हाइड्रो निर्माण थालनी हुने भनेपछि उत्साहित स्थानीयवासीसुरुङमार्गको काम थालनीपछि खानेपानीको मुहान सुकेको बताउँछन् । ससाना पानीका मूलहरू सबै सुकिसके, ठुला मुहानको पानी निकै कम भएको स्थानीय बासिन्दा बलराम शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौवाफाँट, द्वारी खोला, धरमपानी, पुनडाँडाको पानी सुकिसक्यो । प्रशस्त पानी हुने पिप्ले माथिको मूलको पनि अहिले पनिकै थोरै मात्र छ ।” यस गाउँपालिकाको वडा नम्बर २ को मौवाफाँटमा गाउँपालिका केन्द्र रहेको छ भने पिप्लेमा वडा कार्यालय छ । विद्युत् उत्पादनले गर्दा वडाका सबै जसो क्षेत्रमा पिउने पानीको अभाव सिर्जना भएको वडाध्यक्ष खिम शाहीको भनाइ छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगङ्गा हाइड्रोको सुरुङ निर्माण कार्यका कारण पानीको स्रोत नासिएको बताउनुहुन्छ । यस विषयमा सम्वन्धित निकायलाई जानकारी गराए पनि जवाफ नआएको उहाँले बताउनुभयो । पिप्ले एवं मौवाफाँट क्षेत्र तथा वडा नम्बर २ भगवतीमा पनि पानीको समस्या भएकाले भगवती पिप्ले बृहत् योजनामार्फत १३ किलोमिटर टाढा चिमखोलाबाट पानी ल्याउने प्रयास भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । “यसका लागि ठुलो बजेट अनि टाढाबाट पानी ल्याउनुपर्ने भएकाले केही प्राविधिक कुरा मिलेका छैनन्,” उहाँले भन्नुभयो, “अब केही समयमा अर्थ मन्त्रालयमा पुगेर थप छलफलपछि योजनालाई मूर्त रूप दिन लाग्ने छौँ ।”

नुनथलाको मुहान पनि सुक्यो, अँधेरी खोलाबाट पानी ल्याउने प्रयास भइरहेको छ सफल हुन्छ कि हुँदैन तैपनि अर्को विकल्प पनि नभएकाले अहिलेका लागि पिप्ले तथा मौवाफाँट क्षेत्रका लागि पिउने पानीको समस्या भएको स्थानीय धनबहादुर रोकाले थप्नुभयो । ५० भन्दा धेरै मूल सुकिसकेका छन् भने अन्य मूल पनि पानी हराउँदै गएको भनाइ स्थानीयको छ । खानेपानीको समस्या जटिल बन्दै गएपछि विकल्प खोज्न थालिएको जानकारी उहाँले दिनुभयो । रघुगङ्गा गाउँपालिका–२ मुनिबाट जलविद्युत्का लागि सुरुङ निर्माण थालिएसँगै पानीको स्रोत हराउँदै गएको स्थानीय बबी शाहीले बताउनुभएको छ । उहाँका अनुसार पिप्लेका अधिकांश क्षेत्रमा दुई चार घरलाई प्रयोग गर्न पुग्ने खालका मुहान सबै सुकेका छन् ।

वडा नम्बर २ पिप्लेका वडाध्यक्ष खिम शाहीले हाइड्रो बन्नु ठिक थियो तर प्राविधिक अध्ययनबिना काम भएकाले पिउने पानीको स्रोत हराएर गएको गुनासो पोख्नुभयो । बृहत् योजना बनाएर चिमखोलाबाट पानी ल्याउने प्रयास गरेको भए पनि समय लाग्ने भएकाले गाउँमा पिउने पानीको हाहाकार मच्चिएको भनाइ उहाँको छ । जिल्ला समन्वय समितिका पूर्वप्रमुख देवेन्द्रबहादुर कटुवालले जलविद्युत्का कारण पानीको स्रोत हराएकाले यसका लागि गाउँपालिकाले नै अग्रसरता देखाउन नसकेको बताउनुहुन्छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...