काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा वितरण कार्यक्रम आयोजना गर्यो । आयोगले करिब एक सय जग्गा धनीपुर्जा वितरणको तयारी गरे पनि राजस्व बढी भएको भन्दै १५ जना अव्यवस्थित बसोबासीले मात्रै राजस्व बुझाएर जग्गाधनी लालपुर्जा लिएका छन् ।
राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच गरी अव्यवस्थित जग्गाको पुर्जा तयार गरिरहेको छ तर पुर्जा लिने अव्यवस्थित बसोबासीले पुर्जा लिन रुचि नै नदेखाएको पाइएको छ । भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले अव्यवस्थित जग्गाको पुर्जा धमाधम तयार भइरहेको बताउनुभयो तर पुर्जा लिन भने जग्गाधनीहरूले अनिच्छा देखाएको जानकारी उहाँले दिनुभयो । शुद्धोधन गाउँपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले करिब एक सय पुर्जा वितरणको कार्यक्रम रहे पनि मुस्किलले १५ जनाले पुर्जा लिएको बताउनुभयो । उहाँका अनुसार पुर्जा लिनेले न्यूनतम ५० हजारदेखि तीन लाखसम्म राजस्व बुझाउनुपर्ने हुन्छ । यस्तै समस्या रुपन्देहीको देवदह–९ को कालिकाटोलमा पनि देखिएको छ । आयोग पुर्जा वितरण गर्न जाँदा कोही नआएको आयोगका रुपन्देही अध्यक्ष क्षेत्रीले बताउनुभयो । रुपन्देहीका १६ पालिकामध्ये आठ वटा पुर्जा वितरण गर्न सक्ने अवस्थामा पुगेका छन् ।
बुटवल, कञ्चन, सैनामैना, देवदह, तिलोत्तमा, शुद्धोधन, सियारीलगायतका स्थानमा पुर्जा वितरणको तयारी भइरहेको जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले राजस्व घटाउन नमिल्दा अव्यवस्थित जग्गाको राजस्वकै कारण समस्या परेको बताउनुभयो । आयोगका रुपन्देही सदस्य बद्रे आलमले राजस्व घटाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताउँदै राजस्व नघटेमा तयार भएको पुर्जा लिन जग्गाधनी नै नआउने अवस्था रहेको बताउनुभयो । जिल्ला भूमि आयोगले ३५ हजार पुर्जा तयार गरेको जनाएको छ । गोरखापत्र