भारतीय सर्लाहीमा पेस्तोलसहित दुई ‘मस्ट वाण्टेड अपराधी’ पक्राउ

Published on

काठमाडौं । सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वाण्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बरहथवा नगरपालिका–६, मगर टोलबाट एक थान अमेरिकन पेस्तोल र ६ राउण्ड गोलीसहित भारतको सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्निकुमार सिंह र मोतिहारी गङ्गापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । उनीहरु दुवै भारतीय प्रहरीको ‘मस्ट वाण्टेड अपराधी’ को सूचीमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार राति पौने ९ बजेतिर सन्निकुमार र जितेन्द्रको बरहथवास्थित कोठामा प्रहरी पुगेर खानतलासी लिन खोज्दा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोतलबाट एक राउण्ड गोली फायर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर घेरा हालेर दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो । घटनास्थलबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ राउण्ड गोली र फायर भएको गोलीको एक थान खोका बरामद भएको प्रहरीले जनाएको छ । दुवैलाई पक्राउ गरी सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा बसबरिया गाउँपालिका–६, पोखरियाबाट जितेन्द्रकुमार प्रहरीको नियन्त्रणमा भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई पाँच राउण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । जितेन्द्रको बाँया घुँडा र दाहिने तीघ्रामा दुई राउण्ड गोली लागेको छ । घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात जनकपुर रेफर गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका सन्निकुमार सिंहलाई भने मङ्गलबार बिहान पत्रकार सम्मेलन गरी बरामद पेस्तोल र गोलीसहित सार्वजनिक गरिएको छ । जितेन्द्रलाई नियन्त्रणमा लिनेक्रममा प्रहरी जवान रमेश विक र प्रहरी जवान दीपेश चौहान घाइते हुनुभएको छ । घाइते दुवै जवानको अवस्था सामान्य रहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

नरेन्द्र र सन्निकुमार भारतमा दुईवटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र एउटा लागूऔषध मुद्दामा फरार अपराधी रहेको प्रहरीले जनाएको छ । नेपाली भूमिमा समेत उनिहरुले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रुपमा समेत आएको हुनसक्ने आशङ्कासहित सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...