हर्षोल्लासका साथ पहाडी क्षेत्रहरुमा होली पर्व मनाइँदै

Published on

काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउनुहुन्छ । “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उहाँ भन्नुहुन्छ, “यो पर्व मन नपराउने कमै छन् ।” फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को परम्परागत बाजो बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ”, उहाँ भन्नुहुन्छ, “काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।”

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ । नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउनुभयो । “होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब”, उहाँ भन्नुहुन्छ, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।” होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाउनुभयो । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।

ताजा समाचार

नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई...

युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

नवलपुरमा एक जनाको हत्या

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...