गर्जो टार्नकै लागि गर्जमुनिका बादी भारत पलायन

Published on

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उहाँको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुःख झन् थपियो । दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।

“रेलबाट खसेपछि दुवै खुट्टा काटिए”, उहाँले भन्नुभयो, “नजिकै रहेका प्रहरी र यात्रुहरूले रेल मुनिबाट तानेर ज्यान जोगाए ।” अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग तिर्नुभयो । काटिएका दुवै खुट्टा अझै निको भएको छैन । ऋण लागेपछि दुवै छोरालाई विद्यालयबाट निकालेर काममा लगाउनु परेको उहाँको गुनासो छ । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बस्नुभएको छ । ज्ञानु बादी एउटा प्रतिनिधि पात्र मात्र हो । गर्जमुनिका १० परिवार बादी मध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरूका जिम्मामा छोडेका छन् । “अरू परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन्”, श्यामकुमाल बादीले भन्नुभयो, “तीन परिवारले मेरै जिम्मामा उनीहरूका केटाकेटी छाडेर गएका छन् ।” भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको उहाँले बताउनुभयो ।

बादी समुदायको पुर्ख्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उहाँको भनाई छ । “विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे” उहाँले भन्नुभयो, “अहिले मागेर कसैले दिँदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।” आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिएपनि पोसाक, कापी, कलम लगायतका स्टेशनरी खरिद गर्न धौधौ छ । “साँझ बिहानको खानाको छाक कटाएर शुल्क तिर्दै आएका छौँ” स्थानीय बिष्ना बादीले भन्नुभयो, “केही महिना अघि सरस्वती पूजा भनेर बालबालिकाबाट रु एक सय ५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरू पैसा पनि लिन्छन् ।” विद्यालयले भर्ना र मासिक शुल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने की बालबालिकालाई पढाउने समस्या हुने उहाँको गुनासो छ ।

बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्ती लगायतका जङ्गली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तिको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरूको गुनासो छ । स्याली नदीले बर्सेनि जग्गा कटान गरेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरेपनि पूरा नभएको पविसरा बादीले बताउनुभयो । दातृ निकाय र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगारमूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रम अन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए । स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरूको दुखेसो छ ।

विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरेपनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुई देखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थालेपनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ । बादी समुदायलाई खाना पकाउन आगो बाल्न समेत समस्या छ । “निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरूप रु पाँच सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइँदैन ।” पविसराले भन्नुभयो, “बस्तीमा खानेपानीको अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।” गर्जमुनिका वडा अध्यक्ष चक्रबहादुर खडकाले बादी समुदायका लागि रु ५० हजार बजेटको व्यवस्था गरेको बताउनुभयो । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उहाँले बताउनुभयो । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...