एउटै सुझाव कार्यान्वयन भएन खगेन्द्र नवजीवन केन्द्रको बेथिति,

Published on

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन ।

सङ्घको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले फागुन १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गरेर प्रगति विवरण प्रस्तुत गर्न पदाधिकारीलाई निर्देशन दिए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्षसहित बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन थाल्न निर्देशन दिनुभएको थियो ।

उहाँले सङ्घका अध्यक्ष साम्देन लामालाई बोलाएर तीन महिनाभित्रै पूर्ण रूपमा प्रतिवेदन कार्यान्वयन गरिने प्रस्ट पार्दै तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको थियो तर सङ्घका पदाधिकारीको आलटालले प्रतिवेदनको एउटा बुँदा पनि कार्यान्वयन भएको छैन । प्रजिअ बस्नेतले भन्नुभयो, “प्रतिवेदन बुझेपछि तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छु । कार्यान्वयन प्रगति पनि ल्याउन निर्देशन दिएको छु तर अहिलेसम्म कुनै विवरण आएको छैन ।” उहाँले अध्यक्ष लामालाई बोलाएर प्रगति विवरण माग्ने बताउनुभयो । उहाँले कुनै प्रगति नभएमा ‘अर्को स्टेप’ चाल्ने चेतावनी दिनुभयो । ‘अर्को स्टेप’ भनेको तदर्थ समिति हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “खगेन्द्र नवजीवन केन्द्रमा बेथिति र भ्रष्टाचार छ, प्रतिवेदन कार्यान्वयन लापर्बाही देखिएमा त्यो पनि हुन सक्छ ।” अध्यक्ष लामाले प्रतिवेदन कार्यान्वयन गर्ने सुरसार गर्नुभएको छैन । उहाँले प्रतिवेदन कार्यान्वयनको विषय के हुँदै छ भनेर सोध्दा ‘हुँदै छ, सल्लाह हुँदै छ’ भन्ने जवाफ दिनुभयो ।

गृहमन्त्रीको चासो

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको भ्रष्टाचार र बेथिति, अनियमितता र भ्रष्टाचारका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्रतिवेदन कार्यान्वयन र कारबाही प्रक्रिया अघि बढाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि चासो व्यक्त गर्नुभएको छ । खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिक र अपाङ्गता अधिकारकर्मीको टोलीसँगको भेटमा मन्त्री लामिछानेले केन्द्रलाई नमुना बनाउने आश्वासन दिनुभएको छ । उहाँसँगको भेटपछि अपाङ्गता अधिकारकर्मी एवं अधिवक्ता विदुरकुमार थापाले भन्नुभयो, “गृहमन्त्रीले प्रतिवेदन सचिवालयमा प्राप्त भएको, कानुन बनाएरै अनियमितता भ्रष्टाचार रोक्ने, आवश्यक कारबाही अघि बढाउने र खगेन्द्र नवजीवन केन्द्रलाई नमुना बनाउने बताउनुभयो । हामी आशावादी छौँ ।”

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...